News Griha :: न्यूजगृह
नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव

काठमाडौं— साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ। खेलको ७१ औं मिनेटमा भारतकी सङ्गीता बास्फोरेले गोल गरेकी हुन्।

भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरूले पनि भारतको पोस्टमा गोल गरेका थिए। तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रङ्गशाला तनावग्रस्त भएको छ।

रेफ्रीले सुरुमा गोल भएको सङ्केत गरेपनि गोल दिएनन्। भारतीय खेलाडीहरू गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो।

 रेखालाई रातो कार्ड

भारतविरुद्धको खेलमा नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएर बाहिरिएकी छन्। दोस्रो हाफको सुरुवातमै पौडेल बाहिरिएपछि नेपाल अब दस खेलाडीमा सीमित भएको छ।

रेखाले नेपालका लागि ७ गोल गर्दै प्रतियोगिताकै सर्वाधिक गोलकर्ता समेत बनेकी थिइन्। दशरथ रंगशालामा जारी खेलमा पौडेलले रातो कार्ड पाएपछि नेपाली दर्शकहरूले केहीबेर नाराबाजी गरेर विरोध जनाएका थिए।

तनावका कारण केहीबेर खेल रोकिएको थियो। नेपाली फरवार्ड सावित्रा भण्डारीले दर्शकलाई हात जोडेर शान्त रहन आग्रह गरेकी थिइन्। यो खेलको विजेता प्रतियोगिताको फाइनलमा पुग्नेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  २०:२२
Weather Update