काठमाडौं— अमेरिकामा तीन खेलको टी–२० आई सिरिज क्लीन स्वीप गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय अभ्यास खेलमा भने पराजित भएको छ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसम्मिलित टोलीसँग नेपालले त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिज शुक्रबारदेखि सुरु हुनेछ।
सिरिजको तयारीका लागि नेपालले घरेलु टोलीसँग सिरिज र अभ्यास खेल खेलिरहेको छ। बुधबार बिहान सकिएको खेलमा नेपाल अमेरिका ‘ए’ सँग ४ विकेटले पराजित भएको हो।
नेपालले दिएको ८२ रनको झिनो लक्ष्य अमेरिकाले २३.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।
अमेरिका ‘ए’ को जितमा नितिश रेड्डीले सर्वाधिक २९ बनाए। राहुल जरिवालले २६ रन थपे। नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए। रिजन ढकाल र ललितनारायण राजवंशीले समान १ विकेट आफ्नो नाममा गरे।
त्यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली २५.२ ओभरमा ८१ रनमा अलआउट भयो।