News Griha :: न्यूजगृह
नेपाललाई अमेरिकाबाट १५७ रनको लक्ष्य, सोमपाल कामीको घातक बलिङ

काठमाडौं— सोमपाल कामीको घातक बलिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले तीन खेलको टी२० आई सिरिजको अन्तिम खेलमा घरेलु टोली अमेरिकाबाट जितका लागि १ सय ५७ रनको लक्ष्य पाएको छ। 

सोमबार बिहान अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रनको योगफल तयार पारेको हो।  

चौथो विकेटका लागि साइतेजा मुक्मल्ला र मिलिन्ड कुमारले ७६ रनको साझेदारी गरेपछि अमेरिकाले नेपाललाई बलियो लक्ष्य दिएको हो। साइतेजा ६८ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट भए। उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

मिलिन्ड कुमार ४३ र हरमित सिंक १० रनमा अविजित रहे। सयान जहन्जीर ९ रनमा क्याच आउट भए। ओपनर तथा कप्तान मोनान्क पटेल २ रनमा सोमपाल कामीको बलमा एलबीडब्लु धरापमा परे।

आरोन जोन्स १३ रन बनाउँदा ललित राजवंशीको बलमा रिजन ढकालको हातबाट क्याच आउट भए। आन्द्रे २ रनमा क्याच आउट भए। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। रिजन ढकाल र ललिच राजवंशीले समान एक विकेट लिए। 

यसअघि लगातार दुई खेलमा विजयी हुँदै एक खेलअगावै सिरिज जितिसकेको नेपाली टोली क्लिन स्विप गर्ने योजनामा छ। नेपालले पहिलो खेलमा १७ र दोस्रो खेलमा सुपर ओभरमा अमेरिकालाई हराएको थियो।  अमेरिका भने अन्तिम खेलमा सान्तवना जित हासिल गर्न चाहन्छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०८:०६
Weather Update