News Griha :: न्यूजगृह
साफ वुमन्स च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्ससँग खेल्दै, साम्बा खेल्ने सम्भावना

काठमाडौं— घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ।

यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो। फ्रान्समा लिग खेलिरहेकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाविनै मैदान उत्रिएको नेपाल भुटानविरुद्ध फिनसिङमा चुक्दा गोल गर्न असफल बनेको थियो।

यस्तै त्यस खेलमा दुई खेलाडी घाइते हुनु नेपालका लागि दुर्भाग्य बन्यो। भुटानविरुद्ध घाइते हुँदै मैदानछाडेका डिफेण्डर हिरा भुजेल र मिडफिल्डर दीपा शाहीको घुँडाको एसिएलमा चोट रहेकोले उनीहरुले साफको बाँकी खेल गुमाउनेछन्।

हिरा भुटानविरुद्ध पहिलो रोजाइमै खेलेकी थिइन् भने दीपा दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन्। तर, नेपालका लागि सुखद खबर पनि छ। फरवार्ड सावित्रा आइतबार राति फ्रान्सबाट काठमाडौं आइपुगेकी छिन्। उनी टिममा सामेल भइसकेकी छन्। अब साम्बाले माल्दिभ्सविरुद्ध आज खेल्ने सम्भावना पनि छ।

आइतबार प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्राले खेल्न चाहे पहिलो रोजाइमा खेलाउन सकिने र आराम चाहे आराम गर्ने प्रतिक्रिया दिएका थिए। सावित्राको आगमनले नेपाली टिम र समर्थकको पनि मनोबल बढेको छ।

दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरको रुपमा रहेकी सावित्राले युरोपमा लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी छिन्। उनले नेपालका लागि ४६ खेलमा सर्वाधिक ५३ गोल गरेकी छन्।

माल्दिभ्सविरुद्ध खेल्दा नेपाललाई जित आवश्यक छ। समूह बी मा नेपालको १ अंक छ भने माल्दिभ्स अङ्कविहीन छ। माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको थियो। आजै श्रीलंका र भुटानबीच दिउँसो साढे १ बजे खेल हुनेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०७:३०
Weather Update