News Griha :: न्यूजगृह
कुशलको उत्कृष्ट प्रदर्शनमा नेपालद्वारा अमेरिकासामु चुनौतीपूर्ण लक्ष्य

काठमाडौं— कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो टी२० अन्तर्राष्ट्रियमा आइतबार अमेरिकासामु १ सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

अमेरिकाको डलासमा भइरहेको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाएर १ सय ७० रन बनाएको हो ।नेपालको इनिङ्स कुशल भुर्तेलमा टिकेको थियो र उनले नटआउट रहेर ५४ बलमा ९२ रन बनाए । त्यसमा सात चौका र छ छक्का सामेल थियो ।

अर्का नटआउट ब्याटर करण केसीले ६ रन बनाए । नेपालको सुरुआत भने राम्रो रहेन र ११ रनको स्थितिमै ओपनर आसिफ सेखले विकेट गुमाए । उनले एक रन मात्र बनाए ।

अर्का ओपनर अनिल साहले भने २५ रनको योगदान गरे र त्यसमा दुई चौका र एक छक्का सामेल थियो । त्यसपछि गुल्सन झाले १२ बलमा १९ रन बनाए । उनको ब्याटबाट दुई चौका र एक छक्का निस्केको थियो ।

कप्तान रोहित पौडेलले भने १४ बलमा १८ रनको योगदान गरे । उनले दुई चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले दुई रन मात्रै बनाए । अमेरिकी बलरमध्ये नोसथुस केनजिग र जसदीप सिंहले दुई/दुई विकेट लिए ।

नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो । तीन खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ । नेपाल पहिलो टी२० मा १७ रनले विजयी रहेको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०७:५३
Weather Update