काठमाडौं— नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यूएईलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
यससँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो । नेपालले एसिया कपमा समूह ‘ए’मा रहेका भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको समूह ‘बी’ मा अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् ।
नेपालका लागि गुल्सन झाले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ८४ बलमा ६ छक्का र ३ चौकासहित ६७ रन जोडे । यस्तै, उनलाई साथ दिएका भीम सार्कीले ७२ बलमा ३६ रन बनाए ।
नेपालले कप्तान रोहित पौडेलसहित ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख आठ ओभरभित्रै दोहोरो रन पनि नबनाइ आउट भएका थिए ।
गुल्सन र भीमले खराब सुरुवात गरेको नेपालको उत्कृष्ट समापन गरे ।
यूएईका लागि रोहन मुस्तफा दुई र आयान अफ्जल खानले एक विकेट लिए ।
यसअघि, यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर जम्मा ११७ रन बनाएको थियो । ११८ रनको लक्ष्य नेपालले ११७ बल बाँकी हुँदै पूरा गर्यो ।