
काठमाडौं— ७ वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मक रूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ ।
धेरै रुचाइएको पात्र ‘भष्मे डन’ लाई लिएर बन्ने चलचित्रको नाम नै ‘पशुपतिप्रसाद : भष्मे डन’ राखिएको छ ।
शुक्रबार बिहान पशुपति क्षेत्रमै मुहूर्त गर्दै यही चैत्र १० गतेदेखि छायांकन गर्ने जानकारी लेखक तथा निर्माता खगेन्द्र लामिछानेले दिए ।
अभिनेता विपिन कार्की शीर्ष भूमिकामा रहने चलचित्रमा सौगात मल्ल, स्वस्तिमा खड्का र वर्षा सिवाकोटीको अभिनय रहनेछ ।
लेखक लामिछानेले नाम मात्रको शृङ्खला नभई अर्थपूर्ण र तर्कपूर्ण चलचित्र बन्ने बताए ।
‘जहाँ ७ वर्ष अगाडि चलचित्र सकिएको थियो त्यहीँबाट सुरु हुनेछ । यो समय भइरहेको परिवर्तनसँगै भष्मेमा आएको बदलावलाई देखाउने छौँ’, लेखक लामिछानेले भने ।
यसमा नीरज कँडेलले छायांकन निर्देशन, कृष्ण थापाले छायांकन, दीर्घ खड्काले सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालले संगीतको काम गर्नेछन् ।