
काठमाडौं— एसीसी प्रिमियम कप क्रिकेटको नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल आज पुनः हुँदैन । सोमबारको खेल वर्षाका कारण रोकिएपछि बाँकी खेल हुन लागेको हो ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण रोकिन पुगेको थियो । नेपालले आक्रमक खेल खेल्दै १६ ओभरको समाप्तिमा यूएई ६० रन जोडेर ५ विकेट लिएपछि पहिलोपटक वर्षाको कारण रोकिन पुगेको खेल पुनः सुचारु गरिएको थियो ।
तर दोस्रोपटक पुनः सुचारु गरिए पनि वर्षा सुरु भएपछि केही समयका लागि रोकिएको थियो तर ३ः३० बजेसम्म पनि वर्षा नरोकिएपछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो ।
सोमबार भएको खेलमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट झारेका थिए । सोमपाल कामी र गुल्सन झाले भने समान १–१ विकेट लिएपछि यूएई दबाबमा परेको थियो ।
अब नेपालले यूएईलाई अलआउट गर्नुभन्दा १ विकेटमात्र बाँकी रहेको छ । हिजो स्थगित भएको स्थानबाट नेपालले बलिङ सुरु गर्नेछ । नेपाल टस हारेर बलिङमा गएको थियो ।
मंगलबार रिर्जभ डे भएकाले बिहान ९ बजेबाट यूएईले १०६–९ विकेटको अवस्थाबाट खेल सुरु गर्नेछ । मंगलबार पनि सोमबारको झै वर्षा भएको खण्डमा सुपर ओभर खेलाउने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ ।
तर वर्षाको कारण सुपर ओभर पनि हुन नसकेको खण्डमा भने नेपालले जित हासिल गर्नेछ । त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता हेरिनेछ । वरीयताको आधारमा आधारमा यूएईभन्दा अगाडि रहेकाले नेपाल स्वतः एसीयाकपमा छनोट हुनेछ ।
आईसीसीको एकदिवसीय वरीयतामा नेपाल १४औँ र यूएई १९औँ स्थानमा रहेका छन् । फाइनल खेलका लागि दर्शकले त्रिवि क्रिकेट मैदानमा निःशुल्क प्रवेश पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।