News Griha :: न्यूजगृह
एनपीएल अक्सन आज, यी ६ खेलाडीले पाउन सक्छन् महँगो मूल्य

काठमाडौं— पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन आज हुँदैछ। काठमाडौंमा आयोजना हुने अक्सन दिउँसो २ बजेदेखि सुरु हुनेछ।

अक्सनमा १५० भन्दा खेलाडी सहभागी हुनेछन्। क्यानले यसअघि १४२ जनाको अन्तिम सूची सार्वजनिक गरेको थियो। तर, त्यसमा केही नाम छुटेको भन्दै क्यानले अक्सनको अन्तिम लिस्टमा थप खेलाडी समावेश गर्ने भएको छ।

पहिलो सिजनको एनपीएलमा एक टिममा कुल १६ खेलाडी हुनेछन्। तीमध्ये चारजना विदेशी खेलाडी हुने छन्। विदेशी खेलाडीलाई टिमहरूले आन्तरिक सहमतिमा अनुबन्ध गर्न पाउने छन्। तीमध्ये एकजना एसोसियट क्रिकेटर हुनुपर्नेछ। यस्तै, हरेक टिमले एकजना खेलाडी ट्यालेन्ट हन्टबाट भित्र्याउनु पर्नेछ।

पहिलो संस्करणको एनपीएल अक्सनमा ग्रेड ‘ए’ का खेलाडीको न्यूनतम् मूल्य १० र उच्चतम १५ लाख रुपैयाँ राखिएको छ। यस्तै, ग्रेड ‘बी’ का खेलाडीले न्यूनतम् ५ लाख र उच्चतम् १० लाख रुपैयाँ पारिश्रमिक पाउने छन्। ग्रेड ‘सी’ का खेलाडीको न्यूनतम् २ लाख र उच्चतम ५ लाख रुपैयाँ तोकिएको छ।

उच्चतम् मूल्यमा गएपछि सबै ग्रेडका खेलाडी लक्की ड्रबाट निर्धारण हुनेछ। एक टोलीले ‘ए’ र ‘सी’ ग्रेडका समान तीन तथा ‘बी’ ग्रेड का चार खेलाडी टोलीमा अनिवार्य राख्नुपर्ने नियम छ।

एनपीएल अक्सनमा महङ्गोमा बिक्री हुनसक्ने ६ खेलाडी 

गुलसन झा​ 
एनपीएल अक्सनमा युवा अलराउन्डर गुलसन झाले सर्वाधिक मूल्य पाउन सक्ने अनुमान गरिएको छ । उनी हाल उच्च लयमा छन्। गुलसनले क्यानडा भ्रमणका क्रममा सानदार प्रदर्शन गरे । त्यसकारण पनि उनी अक्सनमा महङ्गोमा बिक्री हुने सम्भावना छ ।

टीयू मैदानमा गुलसनले राम्रो प्रदर्शन गर्दै आएका छन् । र, अब उनलाई अक्सनबाट भित्र्याउन टिमहरूबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

अनिलकुमार साह
एनपीएल अक्सनमा महङ्गोमा बिक्री हुन सक्ने अर्का खेलाडी हुन्, अनिलकुमार साह। उनी पनि हाल राम्रो लयमा छन्। टीयू ग्राउन्डमा अनिलको रेकर्ड पनि राम्रो छ। विकेटकिपरसमेत रहेकाले उनी टिमहरूको रोजाइमा पर्ने सम्भावना उच्च छ।

सन्दीप जोरा

एनपीएल अक्सनमा सन्दीप जोरा पनि टिमहरूको प्रमुख रोजाइमा पर्ने सम्भावना उच्च छ। टी–२० मा उनले राम्रो प्रदर्शन गर्दै आएका छन्।

आक्रामक ब्याटिङ गर्ने क्षमता भएका जोराले अन्तर्राष्ट्रियदेखि घरेलु प्रतियोगिताको राम्रो अनुभव हासिल गरिसकेका छन्। साथै, उनले विगतमा नेपालका अरू लिग पनि खेलिसकेका छन्।

लोकेश बम

एनपीएलको अक्सनमा राम्रो मूल्य पाउन सक्ने अर्को खेलाडी हुन्, लोकेश बम। टी–२० मा आक्रामक ब्याटिङ गर्न माहिर लोकेशमाथि पनि टिमहरूले पैसाको वर्षा गर्ने सम्भावना उच्च छ। उनले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

कमल सिंह ऐरी

एनपीएल अक्सनमा महँगो मूल्य पाउन सक्ने अर्का खेलाडी हुन्, कमल सिंह ऐरी। उनले टी–२० मा राम्रो प्रदर्शन गर्दै आएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव हासिल गरिसकेका कमललाई भित्र्याउन टिमहरूबीच कडा टक्कर हुने देखिन्छ।

ललितनारायण राजवंशी

एनपीएल अक्सनमा सर्वाधिक मूल्य पाउने अर्का सम्भावित खेलाडी हुन्, स्पिनर ललित नारायण राजवंशी। टीयू ग्राउन्डमा प्रायः उनी विपक्षी टिमविरुद्ध हाबी हुँदै आएका छन्। टीयूको पिच पनि स्पिनर अनुकूल मानिन्छ।

यस्तो अवस्थामा नेपालका लागि २२ टी२० आई खेलिसकेका ललितलाई भित्र्याउन टिमहरूबीच प्रतिस्पर्धा हुन सक्छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १०:२३
Weather Update