
काठमाडौं— एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा वर्षाका कारण स्थगित भएको हो । खेललाई निरन्तरता दिन नसिकिएपछि रिजर्भ डे अर्थात् मंगलबार बाँकी खेल खेलाइने भएको हो ।
सोमबार भएको खेलमा यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । यसअघि १६.५ विकेटमा यूएईले ६० रन बनाउँदा वर्षाको कारण पनि रोकिएको थियो ।
मंगलबार २७.३ ओभरबाट नै खेल सुरु हुने भएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल रोकिएको थियो । खेल रोकिनुअघि यूएईका लागि आसिफ खानले ४६ रन बनाए भने आयन लाक्राले १३ रन जोडे । त्यस्तै मुहम्मद वासिमले ११ रन बनाउँदा बसिर हमिदले १० बनाएका थिए ।
नेपालका खेलाडी ललित राजवंशीले तीन विकेट लिए । साथै करण केसी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए भने गुल्सन झा र सोमपाल कामीले एक/एक विकेट लिए ।
यूएईले २७.३ ओभरको समाप्तिमा ९ विकेटको गुमाएर १०६ नर जोडेको छ ।
एसीसी कपको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएकाले यो खेल निकै महत्त्वपूर्ण मानिएको छ । सोमबारको खेल हेर्न वर्षाका बीचमा पनि हजारौं नेपाली समर्थक कीर्तिपुर खेल मैदान पुगेका थिए । लामो समयसम्म खेल सुचारु हुने आशामा दर्शकहरू खेलमैदान आसपासमै कुरेर बसे पनि खेल स्थगित भएपछि फर्किएका थिए ।