News Griha :: न्यूजगृह
खेलाडीको मनोबल बढाउनुपर्छ, खेल पूर्वाधारमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरू सामूहिक तस्बिरमा । तस्बिर : रासस

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर गरे ।

राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टोलीले देशको इज्जत र गौरव बढाएको बताए । उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा पनि क्रिकेट टोलीले ऐतिहासिक सफलता प्राप्त गरेकामा प्रशन्नता व्यक्त गरे । नेपाली क्रिकेट खेलाडीको प्रदर्शनबाट मनभित्रैबाट आनन्द मिलेको उनले उल्लेख गरे ।

‘मैले नेपालले खेलेको बिहीबारको खेल हेरेँ । असाध्यै राम्रो खेल थियो । दर्शकहरू पनि प्रफुल्ल हुनुहुन्थ्यो’, उनले भने,‘यस्तो ठूलो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । खेललाई राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन ।’

सो अवसरमा राष्ट्रपति पौडेलले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई दिए । उनले आगामी दिनमा थप सफलताको कामनासमेत गरे ।

बधाई तथा सम्मान समारोहमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान खेलाडीलाई पुरस्कृत गरेको प्रसंग उल्लेख गर्दै यसबाट नेपाली क्रिकेट टोलीको मनोबल थप बढेको बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  २०:३२
Weather Update