News Griha :: न्यूजगृह
विक्षिप्त भावना, मनोपरामर्श लिँदै

काठमाडौं— सञ्चारिका समूहले आइतबार एक विज्ञप्ति जारी गर्दै पत्रकार भावना लिङ्गदेनमाथि भएको यौन दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । 

पत्रकार भावनाले केही दिनअघि फेसबुक लाइभमा आफूमाथि भएको दुर्व्यवहारको बारेमा बताएकी थिइन् । उक्त घटनाबारे न्यूजगृहले पीडितसँग कुरा गरेर समाचार प्रकाशित गरेको थियो । 

अनलाइनमा समाचार प्रकाशित भएको तीनदिनपछि सञ्चारिका समूहले जारी गरेको विज्ञप्तिमा ‘झापाबाट प्रसारण हुने सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार भावना लिङ्गदेनमाथि सम्पादक उमाकान्त खनालबाट यौन दुर्व्यवहार भएको र यौन दुर्व्यवहारको उक्त घटनापछि पत्रकार लिङ्गदेनलाई कामबाट विस्थापित गरिएको घटनामा गम्भीर ध्यानाकर्षण भएको’ उल्लेख छ । 

सञ्चारिकाले विज्ञप्तिमा दोषीलाई कारबाही तथा पीडित पत्रकारको सामाजिक जीवन तथा पेशागत सुरक्षाको प्रत्याभूत गर्न सरकार समक्ष माग गरेका छ । यस्तै, यौन दुर्व्यवहारमा संलग्न सम्पादक खनाललाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितको सामाजिक प्रतिष्ठामा भएको क्षतिपूर्ति तथा पेशागत सुरक्षाको प्रबन्ध गर्न सम्बन्धित नियामक संस्था र स्थानीय प्रशासन समक्ष सञ्चारिकाकी महासचिव वसन्ती बास्तोलाले विज्ञप्तिमार्फत माग गरेकी छन् । 

umakant khanal1682928566.jpg
आरोपित उमाकान्त खनाल । तस्बिर देशसञ्चार डटकम 

सोमबार खनालले सञ्चारिकाको विज्ञप्तिमा आपत्ति जनाउँदै भावनाको कार्यक्षमतामा प्रश्न उठाउँदै रिसवी साध्न झूटो आरोप लगाएको बताएका छन् । उनले विज्ञप्तिमा ‘१ असोजबाट काम सुरु गरेको दुई दिनमै दुर्घटनामा पर्दा आफैँले उद्दार गरेको, अभाव भएका बेला बाहिरी उद्घोषणको काम पनि भेटेसम्म दिलाएको र संसदीय चुनावका बेला बाह्रखरीमा आफूमार्फत काम पाएको तथा भाइ लाई खर्च नहुँदा एक हजार रुपैयाँ दिएको’ उल्लेख गरेका छन् । 

टेलिभिजनका सुरुवातका दिनदेखि म असुरक्षित भएँ भनिरहँदा उहाँले यी काम किन गर्नुभयो भन्दै उनले प्रश्न गरेका छन् । खनालले पीडितको कार्यक्षमतामा प्रश्नसमेत उठाएका छन् ।

उनले १७ मङ्सिरमा टेलिभिजनको फेसबुक पेजमा लोगो बिनाको भिडिओ पोष्ट गरेपछि औपचारिक रुपमा समूहमा सम्झाउने प्रयास गरेको, भोलिपल्ट समाचार बुलेटिनको हेडलाइन फुटेज बिगार्दा अब यो जिम्मेवारी नदिन पनि सकिन्छ है भनेपछि त्यही बेलुकादेखि उहाँले ममाथि सम्पादकले दुर्व्यवहार गर्यो भनेर वितण्डा मच्चाउनु भयो भन्दै उल्लेख गरेका छन् । उनले कामका बारेमा कडाइ गर्न थालेपछि निहुँ खोज्न थालेको भन्दै पीडितमाथि आरोप लगाएका छन् । 

पीडितले लगाएका तीनवटै आरोप भने खनालले घुमाउरो पारामा स्वीकार गरेका छन् । राती १२, १ बजे त्यो फलाना केटी मेरो काखमै सुत्थी, विश्वास हुनुपर्छ जस्ता कुरा भन्ने, बाइकमा कति पछाडि बसेको फलाना केटी त टाँसिएर लडाउला जस्तै गरी बस्थी जस्ता वाक्य बोलेर दुर्व्यवहार गर्ने गरेको पीडितको आरोप थियो ।

जवाफमा खनालले लेखेका छन्, ‘पत्रकारको जेन्डर हुँदैन, जुनसुकै बेला जहाँ पनि काममा जानुपर्ने हुनसक्छ । तर, नियत सही हुनुपर्छ भन्दा यौन दुर्व्यवहार हुन्छ ? बाइक हल्लियो, अलि अगाडि बस्नुस्न भन्दा यौन दुर्व्यवहार हुन्छ ? यस्तो विषयमा सञ्चारिका समूहले व्यक्तिगत अधिकार कुण्ठित गरेको छ ।’ 

पीडितले पूर्व जानकारीविनै सूर्योदय टीभीले जागिरबाट निकालिएको आरोप लगाएकी थिइन् । खनालले उक्त कुरा स्वीकार गरेका छन् । उनले परीक्षा दिन पाँचथर गएकै बेला अर्को एक जना कर्मचारी चाहिएर राखेको विज्ञप्तिमा स्वीकारेका छन् ।

press- relese- sancharika-umakanta1682929513.jpg
सञ्चारिका समूहको विज्ञप्ति दायाँ र उमाकान्त खनालको  विज्ञप्ति बायाँ । 

विज्ञप्तिमा भनिएको छ, ‘उहाँ चैत २७ गते कार्यालय आउँदा म के काम गर्नु भन्नुभयो । मैले भने तपाईं पुरानो मान्छे, आजलाई अनलाइन/स्क्रोल हेर्नुहोस् भनेर कार्यालयबाट हिँडे । पछिको तालिका बैठकमा मिलाउँला भनेको थिएँ । एकैछिनमा मेरो म्यासेन्जरमा टीभी छोडेको भनेर जानकारी गराउनुभयो । के यो मैले वा टेलिभिजनले निकालेको भन्न मिल्छ ?’ उनले व्यवस्थापन पक्षले भावनालाई बिदा गरियो भनेको दाबी समेत गरेका छन् ।  

खनालले पीडितको मानसिक स्वास्थ्यमा प्रश्न उठाएका छन्। ‘उहाँ राम्ररी नबोल्ने, टेलिभिजनका बाहिरी कार्यक्रमहरूमा नजाने, कुनै सहकर्मीको जन्मोत्सवमा नजाने, पिकनिक नजाने हुनुहुन्थ्यो । उहाँको स्वास्थ्य अवस्था कस्तो छ भन्ने बारेमा सोधपुछ गरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।

उनले पीडितले भिडिओमा आएर बोलेको कुरामासमेत एक्लै गरेको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । ‘भावनाजीले उहाँको फेसबुकमा राखेको भिडिओमा उहाँको आफ्नो सक्रियता मात्र देखिँदैन, उनले विज्ञप्तिमा भनेका छन्, ‘यो भिडिओ कहाँ खिचियो, कस्ले सम्पादन गर्यो, को–को संलग्न छन् भन्ने विषयको पनि खोजविन गरियोस् ।’ 

खनालले धम्कीपूर्ण अभिव्यक्तिमा सञ्चारिका समूहले जारी गरेको विज्ञप्ति तुरुन्त सच्याउन भनेका छन् । उनले गोपनीयताको ख्याल राखेर प्रचार नगरेको भन्दै ‘स्क्रिनसट तथा भिडिओ प्रमाणहरू सुरक्षित राखेको दाबी समेत गरेका छन् । 
हाल उक्त विषयलाई लिएर नेपाल पत्रकार महासंघले कार्यविधि अनुसार पीडितलाई तीन महिनाको तलब भने उपलब्ध गराएको छ । खनालले पनि १५ दिनअघि उक्त टेलिभिजनबाट राजीनामा दिएको बताइएको छ ।

सूर्योदय टीभीमा कार्यरत वरिष्ठ कार्यक्रम निर्माता केशवराज भण्डारीले पनि खनालले राजीनामा दिएको पुष्टि गरेका छन् । खनाल झापाको लागि बीबीसी नेपाली सेवाको पूर्व पत्रकारसमेत हुन् । उनी संघीय राजधानीको प्रतिष्ठित अनलाइन देशसञ्चार डटकमका लागि पनि काम गर्छन् । उनी सो अनलाइनका लागि प्रदेश १ प्रतिनिधिसमेत हुन् । 

यसबीचमा, पंक्तिकारले पीडितसँग कुरा गर्दा उनले मानसिक रुपमा आफू विक्षिप्त भएको र आत्महत्या गर्ने सम्मका विचारहरु आउने गरेको बताएकी थिइन् । ‘भिडिओ आएदेखि नै तरकारी किन्न जाँदा, साथीभाईसँग भेट्दा सबैले मलाई नै हेरेको जस्तो लाग्छ । आत्महत्याबारे मनमा विचारहरु आउन थालेका छन् । अरुमा जागिर खोज्दैछु, तर यहाँ पाउन गाह्रो छ,’ उनले भनिन् । हुनतः उनले सञ्चारिकाबाट मनोपरामर्श पनि पाएकी थिइन् । तर फेसबुकमा अंग्रेजीमा इन्ड (समाप्त) लेखिएको पोष्टले उनले झेलिरहेकी मानसिक पीडाको हिसाब कसले राख्ने ?

यो पनि पढ्नुहोस

 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १४:१४
Weather Update