काठमाडौं— नयाँ वर्षको पहिलो साता ५ वैशाखमा यौन दुर्व्यवहार भोगेर जागिरबाट निकालिनु परेको पीडा फेसबुकबाट साझा गर्दै थिइन्, भावना लिङ्देन।
आवाजविहीनको आवाज बनेकी उनी एक वर्षदेखि आफैँले दुर्व्यवहार भोग्न बाध्य भएकी थिइन्। पाँचथरको फिदिमबाट पत्रकारितामा लागेकी उनले झापाको सूर्योदय टीभीमा काम पाउँदा सायदै सोचेकी थिइन्, एक वर्षमै यो पेशाबाट सधैँको लागि पलायन हुनुपर्नेछ, त्यो पनि अरूको गल्ती र दुर्व्यवहारले।
१५ मिनेटको भिडिओमा आठ मिनेट उनले फिदिमबाट सुरु गरेको पत्रकारिता र त्यहाँ सहयोग गर्ने अग्रजहरूप्रति सधैँ ऋणी रहेको बताएकी छन्। त्यसपछि उनले कसरी आफू दुर्व्यवहार परेँ, कोही कसरी कार्यालयमा सुरक्षित रहन्न र दुर्व्यवहारमा परिन्छ भनेर बताएकी छन्।
न्यूजगृहसँग कुरा गर्दै उनले विगत एक वर्षमा सूर्योदय टेलिभिजनमा काम गर्दा त्यहाँको सम्पादकले कसरी उनीमाथि यौन दुर्व्यवहार, शारीरिक र मानसिक शोषण गरेको खुलाएकी छन्।
सानैदेखि टीभीमा समाचार भन्ने रहर र सपनाले उनलाई पत्रकारिता सुरु गरेको चौथो वर्षमा झापामा पुर्यायो। जिल्लामा मात्र होइन संघीय राजधानीमै नाम चलेका सम्पादकसँग उनी काम गर्ने अवसर पाउँदै थिइन्, फेरि रेडिओबाट टीभीमा फड्को, अरु के चाहियो ? सम्पादकसँग कुरा गरेर उनी सूर्योदय टीभीमा काम गर्न आइन्। सम्पादकले नै फेसबुकको मेसेन्जरबाट त्यहाँ काम गर्न उनलाई प्रस्ताव गरेका थिए। सम्पादकले मेसेन्जरमा बोलेको शैली त्यति चित्त बुझेको थिएन, ‘तर, व्यवहार नगरी मानसिकता बनाउनु उनलाई ठिक लागेन। सायद आफैँले गलत सोचेँ कि भन्ने लाग्यो ।’
कार्यालय जान थालेको केही समयदेखि नै उनीमाथि सम्पादकले दुर्व्यवहार गर्न थाले। भन्छिन्, ‘अरूको उदाहरण दिएर त्यो फलाना केटी त मसँग राति डेस्कमा १२, १ बजेसम्मसँगै सुत्ने गर्थ्यो। विश्वास हो सबै कुरा, ऊ मेरो काखमा सुत्ने गर्थ्यो। तिमी बाइकमा कति पछाडि बसेको ? त्यो फलाना केटी मसँग बाइकमा एकदम धेरै टाँसिएर, मलाई लडाउला जस्तो गरी बस्थ्यो। त्यसरी तपाईंलाई अनकम्फरटेवल गराउँदै जान्छन्।’
‘सहमति हुँदा सेक्स गर्दा पनि हुन्छ जस्ता कुरा गरेर अप्ठ्यारो महसुस गराउने वातावरण सिर्जना गर्छन्। त्यसपछि आफ्नो च्याम्बरमा बोलाउने, पहिले मुखले भन्थ्यो भने बिस्तारै हातले तपाईँका शरीरमा अन्कम्फरटेबल गर्ने हिसाबले छुँदै जाने। अझ आर्थिक अवस्था कमजोर छ भने विभिन्न प्रलोभन देखाएर पनि अन्कम्फरटेबल लाग्ने क्रियाकलाप गर्नेछन् । हातले शरीर छुनेदेखि किससम्म गर्न खोज्छन्। यदि तपाईंले ‘नो’ भन्नुभयो भने जागिरबाट निकालिदिने, लखेट्नेसम्मको धम्की आउँछ,’ भिडिओमा भनिएको छ।
सुरुमा १० देखि ५ बजे दिउँसोको सिफ्टमा काम गरेकी उनले पछि अपराह्न ४ बजेदेखि ८ बजेको समयमा काम गर्न थालिन्। रिपोर्टिङ गर्ने, बुलेटिन तयार पार्ने र वाचन गर्ने उनको जिम्मेवारी थियो। सम्पादकको दुर्व्यवहार असह्य भएपछि कार्यालयका दुई सहकर्मी र बाहिरको साथीलाई पनि भनिन्। तर, उनीहरूले सम्पादक पहिलेदेखि त्यस्तै स्वभावको भएको, अरू पनि पीडित रहेको लगायतका कुरा उनले थाहा पाइन् । भन्छिन्, ‘तर, मैले जस्तो पीडा अरू महिला सहकर्मीले भोग्नु परेन । मेरो साथीले त्यो मान्छेबाट बचेर काम गर्नु। उसको लिंक काठमाडौंमा पनि राम्रो छ । धेरैलाई राजधानीमा राम्रो ठाउँमा जागिर लगाइदिएको छ। त्यसैले जे गरेपनि कसैले ऊविरुद्ध बोल्ने वाला छैन।’
एकातिर सम्पादकको दुर्व्यवहार रोकिएको थिएन भने अर्कोतिर उनले भनेको जस्तो नमाने जागिरबाट निकालिदिन्छु भनेर धम्की पाइरहिन् भावनाले। आर्थिक अवस्था कमजोर र अर्को जिल्लामा बसेर काम गरिरहेकाले पनि उनलाई उक्त जागिरको महत्व थियो । त्यही कमजोरी थाहा पाएकाले पनि सम्पादकले त्यस्तो व्यवहार गरेको उनले भिडिओमा समेत उल्लेख गरेकी छन्।
फेरि, कार्यालयमा सम्पादकसँग नबोले, वास्ता नगरे मुखै कालो पार्ने, सबैको अगाडि कराउने, नभएका गल्ती देखाउने गर्दा दिनानुदिन मानसिक दबाबसमेत उनले खेपिरहेकी थिइन्। सहनै नसकेपछि उनले पाँच महिनाअघि टीभीको व्यवस्थापन समितिमा पहिले मौखिक र पछि लिखित उजुरी हालिन्। लिखित उजुरीपछि व्यवस्थापनले उनलाई बोलाएर आफ्नो कुरा राख्न भनेँ । त्यहाँ उनले सम्पादकले पठाएका अश्लील म्यासेज र हर्कतको बारेमा कुरा गर्दा म्यासेज पठाउने बित्तिकै किन केही नभनेको, यसमा तिम्रो गल्ती छ भनेर जबर्जस्ती उल्टै माफी माग्न र भएका प्रमाण नष्ट गर्न लगाएको उनले सुनाइन्।
भिडिओमा पनि उनले उल्लेख गरेकी छन्, ‘दुर्व्यवहारमा परेको केटीमा आवेश हुन्छ, आवेग, रिस र पीडा हुन्छ। उसले लय मिलाएर मलाई यस्तो भयो भनेर व्यवस्थापनमा भन्न सकिन्न। तपाईंले लय मिलाएर, रुन, आँसु झार्न सक्नुभएन भने व्यवस्थापनले तपाईंको कुरा सुन्दैनन्, पत्याउदैनन्।’
व्यवस्थापनको छलफलमा सम्पादकले पनि सबैको सामु माफी मागेका थिए। तर, आफूले छोरी सम्झेर काम सिकाउनको लागि गाली गरेको पीडकले बताए र व्यवस्थापनले पनि सम्पादककै कुरा सुने। उनले भिडिओमा पनि भनेकी छन्, ‘व्यवस्थापन र सम्पादकमा मिलेमतो पनि हुन्छ, म तँलाई कुटेजस्तो गर्छु, तँ रोए जस्तो गर। तपाईंको लागेको घाउमा एकैछिन मलम लगाएजस्तो, केस दबाउन निलम्बन गरेजस्तो गर्ने, निकाल्ने जस्ता विभिन्न रचना रच्छन्।’
जबर्जस्तीको मिलापत्रपछि कार्यालयमा उनले अर्कै कर्मचारी र बाँकीले सोही सम्पादक अन्तर्गत रहेर काम गर्ने सहमति भयो। उनले त्यसलाई पनि स्विकारिन्। पछि ती कर्मचारीले जागिर छोडेपछि उनी पुनः सम्पादककै मातहतमा बसेर काम गर्नुपर्ने बाध्यता आइलाग्यो। अब उनको काममा खोट निकाल्न थालियो । कार्यालयमा कहिलेकाहीँ दुई/तीन मिनेट ढिलो हुँदा पनि उनको अनुशासनमा प्रश्न उठाइयो।
भन्छिन्, ‘परीक्षाको लागि तीन महिनाअघिदेखि नै १५ दिन बिदा मिलाइदिन प्रशासनसँग अनुमति मागेको थिए। अनुमति पाएर बिदा बसेँ, अन्ततः थाहै नपाई जागिरबाट निकालिए।’
सुरुमा उनी जागिरबाट निकालिएको खबर साथीबाट थाहा पाएकी थिइन्। कार्यालय आउँदा आफ्नो डेस्कमा नयाँ कर्मचारी थिए । भावनाले कुनै जिम्मेवारी नै पाइनन्। भन्छिन्, ‘सर रुटिन चेन्ज भएको हो। मेरो काम के हो ? भनेर सोध्दा काम गर्न मन लाग्छ भने बस नत्र जाऊ। कर्मचारी हटाउने र नयाँ राख्ने कुरा छ । मसान्तमा व्यवस्थापनले छलफल राखेको छ, त्यहीबेला थाहा हुन्छ।’ यसरी उनी २६ चैतमा उल्टै जागिरबाट निष्कासित भइन्।
त्यसपछि टीभीका अध्यक्ष मनोज उप्रेतीसँग आफ्नो समस्या राख्न खोजिन्। उप्रेती त्यसबेला भारतमा थिए र दुईदिनपछि अफिस आएर कुरा गर्ने जानकारी दिए। उनी ४ वैशाखमा कार्यालय गइन् अध्यक्ष उप्रेतीलाई भेट्न। भन्छिन्, ‘दुई घण्टा कुर्दा पनि उहाँले भेट्न मान्नुभएन। त्यसपछि फर्किए र भोलिपल्ट भिडिओमा आफ्नो पाँच वर्ष पत्रकारिताबाट किन सन्यास लिन लागेको, आफूलाई परेको अन्यायबारे बताए।’
स्पष्टीकरण मागिने
उनले भिडिओमा सार्वजनिक गरेपछि मात्रै नेपाल पत्रकार महासङ्घमा दुर्व्यवहारपछि जागिरबाट निष्कासनबारे निवेदन दिइन्। महासङ्घले सो जिम्मा प्रदेश र जिल्ला शाखालाई दियो। प्रदेश समितिबाट अध्यक्ष लिलाबल्लभ घिमिरे र उपाध्यक्ष हिमाकुमारी चेम्जोङ तथा जिल्ला शाखाबाट एकराज गिरि उनलाई भेट्न आए । उनले महासङ्घसँग तीनवटा माग राखेकी थिइन् । पहिलो माग कार्यान्वयन भएको छ। भन्छिन्, ‘नियमअनुसार तीन महिनाको तलब र सम्मानपूर्वक बिदा दियो। अब पीडकलाई महासङ्घको सामान्य सदस्यसमेत नरहनेगरी कारबाहीको माग राखेको छु।’
उजुरीपछि सूर्योदय टीभीका सम्पादकसँग स्पष्टीकरण मागेको पत्र बुधबार पठाउन लागेको महासङ्घका अध्यक्ष विपुल पोखरेलले बताए। भन्छन्, ‘हामीले यौन दुर्व्यवहारको मुद्दालाई निर्मम भएरै कारबाही गर्छौँ। उहाँ बहिनीको उजुरीमा छानबिन भइ पीडकलाई स्पष्टीकरणको लागि बोलाउन लागेका छौँ।’
‘पीडितले पहिले नै कार्यालयमा मिलापत्र गराएर सुल्झाइएको पनि रहेछ। त्यसैले यस्ता मुद्दामा मिलापत्र गराउनु राम्रो होइन। यो फौजदारी केस हो। पीडितले चाहेमा हामी निशुल्क वकिल पनि उपलब्ध गराउन सक्छौँ,’ उनले थपे।
अपमान, बेइज्जत, डर र त्रास सबैको सामना गरेर आफ्ना पीडा साझा गरेपनि भावना कानुनी लडाइँ लिन भने सकिरहेकी छैनन्। भन्छिन्, ‘भिडिओ आउने बित्तिकै मेरा नजिकका साथीभाइ र आफन्तलाई धम्की आएको छ। उसले किन भिडिओमा भनेर वितण्डा मच्चाउन खोजेकी ? चुपचाप नलागे ठिक हुने छैन जस्ता धम्की आइरहेको छ।’
त्यही डरले उनले सम्पादकको नामसमेत बताउन चाहेकी छैनन्। तर, उनी अवसरको नाममा आफ्नो अस्मिता नबेच्न भविष्यका इच्छुक महिला पत्रकारहरूलाई भन्न चाहन्छिन्। ‘सीप भए अन्य संस्थामा पनि काम पाइन्छ। पत्रकारिता छोडेर अन्य पेशामा आउनेछु। तर, कसैको दुर्व्यवहार नसहनु होला दिदी बहिनीहरू।’ अहिले उनले आफ्नो फेसबुक अकाउन्ट हेर्न नमिल्ने बनाएकी छन्।