
काठमाडौं— कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल पुन रोकिएको छ ।
वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेल प्रभावित भएको हो । खेल सुरु भएको २७.३ ओभरमा खेल रोकिएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल रोकिएको हो । खेल रोकिनुअघि युएईका लागि आसिफ खानले ४६ रन बनाए भने आयन लाक्राले १३ रन जोडे । त्यस्तै मुहम्मद वासिमले ११ रन बनाउँदा बसिर हमिदले १० बनाए ।
नेपालका ललित राजबंशीले तीन विकेट लिए । साथै करण केसी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए भने गुल्शन झा र सोमपाल कामीले एक/एक विकेट लिए ।
युएईले २७.३ ओभरको समाप्तिमा ९ विकेटको गुमाएर १०६ नर जोडेको छ ।
एसीसी कपको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएकाले यो खेल निकै महत्त्वपूर्ण मानिएको छ । आजको खेल हेर्न वर्षाका बीचमा पनि हजारौं नेपाली समर्थक कीर्तिपुर खेल मैदान पुगेका छन् ।