News Griha :: न्यूजगृह
एन्फा महिला लिगमा एपीएफले संकटालाई हरायो

काठमाडौं— संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौँ खेलसम्म अपराजित यात्रा कायम राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरू लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे।

खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरूले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन्।

एक मिनेट नबित्दै संकटाकी ममता पुनले काउन्टर अट्याकबाट दिएको उत्कृष्ट क्रसमा सावित्री किसिनले डाइभ गरे पनि फुत्किएको बल टासी ल्हामु शेर्पाले भेट्टाउन सकिनन्। लगत्तै निशा थोकरले उक्त बल क्लियर गर्दै एपीएफको संकट टारिन्।

२१ औं मिनेटमा अनिता बस्नेतको करिब १० यार्डबाट गरेको सशक्त प्रहार संकटाकी गोलकिपर तेनिङ सेनेले उत्कृष्ट बचाउ गरिन्।

अनिता केसीले ५१ औं मिनेटमा एपीएफको अग्रता दोब्बर बनाइन्। सरूले उपलब्ध गराएको बललाई अनिताले बक्सभित्र टर्न गर्दै उत्कृष्ट गोल गरेकी हुन्। एपीएफले ६४ औं मिनेटमा तेस्रो गोल गर्दै संकटामाथि दबाब बनायो।

पेनाल्टी लाइनबाट सविताले गरेको उत्कृष्ट गोलमार्फत एपीएफले ३–० को सहज अग्रता बनाएको हो। सरूले दिएको थ्रो पास नियन्त्रणमा लिँदै उनले गोल गरेकी हुन्। यस क्रममा सविताले संकटाका दुई रक्षकलाई बिट गर्दै बललाई पोस्टको दिशा दिइन्। एपीएफकी सरू लिम्बू प्लेयर अफ दी म्याच भइन्।

जितसँगै साविक विजेता एपीएफले लिगको शीर्ष स्थानमा रहेर दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। लिगको शीर्ष पाँच टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन्।

शीर्ष स्थानको एपीएफले पाँचौँ जितसँगै ६ खेलबाट १६ अंक जोडेको छ। जुन दोस्रो स्थानको पुलिसको भन्दा पाँच अंकले बढी हो। यद्यपि, पुलिसले एक खेल कम खेलेको छ।

यता, पहिलोपल्ट लिग खेलेको संकटाले विदेशी खेलाडी भित्र्याए पनि सुखद् नतिजा प्राप्त गर्न सकेको छैन। ६ खेलमध्ये संकटाको यो तेस्रो हार हो। संकटा पाँच अंकससहित सातौं स्थानमा छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १७:०२
Weather Update