News Griha :: न्यूजगृह
जापानको अध्यागमनले राष्ट्रिय फेन्सिङ खेलाडी दाहाललाई फिर्ता पठायो

काठमाडौं— तीन महिने तालिमका लागि जापान पुगेका राष्ट्रिय फेन्सिङ खेलाडी भीष्मराज दाहाललाई त्यहाँको अध्यागमनले फिर्ता पठाएको छ। नागोयास्थित विमानस्थल अध्यागमनले दाहाललाई आर्थिक अवस्थाको कारण देखाएर नेपाल फर्काएको हो।

दाहाल सोमबार राति काठमाडौं आइपुगेका छन्। ‘नागोया अध्यागमनले तयारी पुगेन, क्लबमा ट्रेनिङका लागि चाहिने कागजात र खानेबस्ने खर्चको स्रोतको सुनिश्चितता भएन भन्दै फिर्ता गरिदियो,’ काठमाडौं उत्रिएपछि खेलाडी दाहालले भने। उनले आफूसँग रहेको पैसाले त्यहाँ ट्रेनिङ गर्न, पछि नेपाल फर्कन पुग्ने अवस्था र प्रायोजकको सुनिश्चितता नरहेको कारण पनि अध्यागमनले देखाएको बताए।

तीन वर्षदेखि फेन्सिङ खेलमा आवद्ध दाहाल उनी बगमती प्रदेशबाट प्रतिनिधित्व गर्छन्। सर्लाहीको हरिवन नगरपालिका–११ बासा टोलका उनी सेप्टेम्बर १५ देखि आगामी डिसेम्बर १५ सम्म तालिममा रहने निश्चित भएको थियो।

त्यसपछि उनले जापानमै रहेका भुवन हुमागाईंमार्फत् तालिम अवधिभरको सम्पूर्ण खर्चको सुनिश्चिततासहितको स्पोन्सर लेटर अध्यागमनमा पेस गरेका थिए। सोही लेटरको आधारमा नेपालस्थित जापानी दूतावासले उनलाई भिसा प्रदान गरेको थियो।

त्यसपछि गएको १४ तारिकमा थाइ एअरवेजबाट नागोया पुगेका उनलाई एअरपोर्टबाटै जापानको अध्यागमनले फर्काएको हो। दाहालले कार्यक्रमका लागि भनेर आफूले हवाइ भाडा र अन्य बन्दोबस्तीका लागि २ लाख खर्च गरिसकेको तर तालिममा जान नपाएपछि त्यो सबै खेर गएको बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:३५
Weather Update