News Griha :: न्यूजगृह
ए डिभिजन लिगमा मनाङको खराब प्रदर्शन 

काठमाडौं— राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी फुटबल क्लबले खराब प्रदर्शन गरेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाईज युनाईटेडसँग मनाङ ३–० गोल अन्तरले पराजित भयो ।

मनाङ छैठौं खेलमा पनि पराजित भएको हो । चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले एक/एक गोल गरे । सबै गोल ४० मिनेटपछि मात्र सम्भव भएका हुन् ।

खेलको ४१ औं मिनेटमा चर्च ब्वाईजले कप्तान अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । सुशील शाहको क्रसमा कप्तान अनन्तले हेडरमार्फत गोल गर्दै चर्च ब्वाइजको खाता खोलेका थिए । खेलको ५५ औं मिनेटमा मौसमले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाएपछि खेलको इन्जुरी समयमा साइमनले गोल गर्दै चर्च ब्वाइजलाई ३–० को जित निश्चित गराएका हुन् ।

यससँगै जारी सिजन चर्च ब्वाइजले पाँचौं जित निकाल्न सफल भएको छ । चर्च ब्वाइजले १३ खेलमा २१ अंक जोडेको छ । मनाङ पहिलोपटक लगातार ६ खेलमा पराजित भएको हो । मनाङले १३ खेलमा १५ अंक जोडेको छ ।

यस्तै खराब मौसमका कारण शनिबार स्थगित भएको आर्मी र हिमालयन शेर्पाको खेल शनिबारकै नतिजा १–१ मा टुङ्गीएको छ । यससँगै दुवै टोलीले १/१ अंक बाँडेका छन् । शनिबार स्थगित हुनुपूर्व नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । शनिबार रोकिएको हिमालयन र आर्मीबीचको बाँकी खेल आइतबार भएको हो ।

यस बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । आर्मीले १३ खेलमा २० अंक जोडेको छ । यस्तै एन्फा कम्प्लेक्समा सम्पन्न खेलबाट जावलाखेल र संकटा क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खराब मौसमका कारण स्थगित पूर्व शनिबार लिएको एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेलले अंक बाँड्नुपरेको हो ।

फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । तर,आइतबार सम्पन्न बाँकी खेल अन्तर्गतको खेलमा संकटाले बराबरी गोल गर्न सफल भएको हो । ५१ मिनेपछि खेलाइएको खेल खेलको ७३औं मिनेटमा निशान खड्काले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

शनिबार च्यासल मैदानमा भारी वर्षा र चट्याङको कारण संकटा र जावलाखेलबीचको खेल स्थगित भएको थियो । यस बराबरीसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ । जावलाखेल शीर्षस्थानमा कायम रहेको छ । संकटा १३ खेलमा १६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १९:३२
Weather Update