News Griha :: न्यूजगृह
पलेशाले भनिन्– आफूमाथिको विश्वास नै मेरो सफलताको आधार हो

काठमाडौं— नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनले आफूमा विश्वास गर्नु नै जितको सबैभन्दा ठूलो हतियार रहेको बताएकी छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधबार आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी छन्।

अब गर्वपूर्वक हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्नसक्ने अवस्था रहेको बताइन्। आफूबाट देशले पदकको आशा गरेको उल्लेख गर्दै उनले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक सम्भव भएको बताएकी हुन्। 

पलेशाले पेरिस पाराओलम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा कांस्य पदक जितेकी थिइन्।

यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो। नेपालले ओलम्पिकमा पदक जित्न सक्दैन भन्ने अवस्थामा अब नरहने उनको भनाइ छ। पलेशाले यो पदक आफ्नो मात्र नभइ देशकै पदक रहेको प्रतिक्रिया दिँदै गर्न अझै धेरै बाँकी रहेको बताएकी छिन्।

प्रशिक्षक कविराज नेगी लामाले अब नेपालले पनि ओलम्पिकमा पदक जित्नसक्छ भन्ने प्रमाणित भएको बताए। प्रशिक्षक लामाले स्वर्ण जित्ने लक्ष्यसहित गए पनि शुरुमा समालिन नसक्दा पूरा नभएको उल्लेख गरेका छन्। यद्यपि यसपल्ट रिपाचेजमा काँस्य पदक जित्ने अवसर नगुमाउने रणनीतिसहित खेल्दा सफल भएको उनको भनाइ छ।

प्रशिक्षक लामाले पलेशाको अथक मिहिनत र परिवारको साथबाट पनि यो पदक सम्भव भएको बताए। उनले मिहिनेत गर्‍यो भने ओलम्पिकमा पदक ल्याउन सक्छौं भन्ने पलेशाले प्रमाणित गरेको बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १५:२६
Weather Update