काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप लिग–२ अन्तर्तग नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेलको खेल तालिका सार्वजनिक भएको छ।
क्रिकेट क्यानडाका अनुसार एकदिवसीय सिरिज भदौ ३१ देखि सुरु हुनेछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी२० सिरिज सुरु हुनेछ।
दुवै सिरिज नेपालले चार–चार खेल गरी कुल ८ खेल खेल्नेछ। सिरिजको तयारीका लागि हाल नेपाली टोली श्रीलङ्कामा छ।
यसअघि भारतको बेंगलुरुमा दुई साता अभ्यास गरेर नेपाल फर्किएको टोली आइतबार श्रीलङ्का गएको थियो। नेपालले क्यानडामा लिग२ को दोस्रो सिरिज खेल्न लागेको हो।
यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो। नेदरल्याण्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो।
क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ। अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन्।
विश्वकप लिग–२ को एकदिवसीय सिरिज
नेपाल भर्सेज क्यानडा– भदौ ३१– नेपाली समयअनुसार बेलुका ७:४५ बजे।
नेपाल भर्सेज ओमान– असोज २ गते– नेपाली समयअनुसार बेलुका ७:४५ बजे।
नेपाल भर्सेज क्यानडा– असोज ६ गते – नेपाली समयअनुसार बेलुका ७:४५ बजे।
नेपाल भर्सेज ओमान– असोज ८ गते– नेपाली समयअनुसार बेलुका ७:४५ बजे।
टी२० सिरिज खेल तालिका
नेपाल भर्सेज क्यानडा– असोज १२ गते– नेपाली समयअनुसार बेलुका ९:४५ बजे।
नेपाल भर्सेज ओमान– असोज १३ गते– नेपाली समयअनुसार बेलुका ९:४५ बजे।
नेपाल भर्सेज क्यानडा– असोज १५ गते– नेपाली समयअनुसार बेलुका ९:४५ बजे।
नेपाल भर्सेज ओमान– असोज १६ गते– नेपाली समयअनुसार बेलुका ९:४५ बजे।