News Griha :: न्यूजगृह
स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने

काठमाडौं— उरुग्वेली फुटबल खेलाडी लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने मङ्गलबार घोषणा गरेका छन्।

विश्वकप–२०२६ छनोटको शुक्रबार पाराग्वेविरुद्ध मोन्टेभिडियोमा हुने खेल उनको उरुग्वेका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ।

पत्रकार सम्मेलनमा ३७ वर्षीय स्वारेजले भावुक हुँदै भनेका छन्, ‘शुक्रबारको खेल मेरो देशका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ। यो निर्णय गर्न मलाई सजिलो रहेन। तर यो अन्तिम खेलमा म पनि आफूले सक्दो राम्रो खेल्नेछु।’

बार्सिलोना र लिभरपुलका पूर्वखेलाडी स्वारेज उरुग्वेली फुटबलका सफलतम खेलाडीमा गनिन्छन्। उनले उरुग्वेका लागि अहिलेसम्म १ सय ४२ खेलमा ६९ गोल गरिसकेका छन्।

सन् २००७ मा उनले आफ्नो राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए। सन् २०१४ को विश्वकपमा इटालीका खेलाडी जर्जिओ चिलेनीलाई टोकेपछि चार महिनाको प्रतिबन्ध लगाइएको थियो।

अहिले उनी अमेरिकामा इन्टर मायामीका लागि खेलिरहेका छन्। सन् २०११ मा उरुग्वेले कोपा अमेरिका जितेको थियो र त्यसमा स्वारेज प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०८:२३
Weather Update