News Griha :: न्यूजगृह
नयाँ फर्म्याटमा हुन लागेको च्याम्पियन्स लिगको ड्र सार्वजनिक

काठमाडौं— नयाँ फर्म्याटमा हुन लागेको च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ। गएराति मोनाकोमा भएको हाईटेक ड्र अनुसार साविक विजेता रियल मड्रिड र लिभरपुल लिग चरणमा नै आमनेसामने हुनेछन्।

ड्र मा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र इटालीका पूर्व गोलकिपर बुफन सहभागी थिए। रियल र साविक उपविजेता बोरुसिया डर्टमन्डले पनि लिगमा प्रतिस्पर्धा गर्नेछन्।

गत सिजनमा रियल, डर्टमन्डमाथि २—० गोलको जित हात पार्दै च्याम्पियन भएको थियो।  फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन  (पीएसजी)ले , जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ।

पीएसजीले एट्लेटिको मड्रिडसँग पनि खेल्नेछ। बार्सीलोनाले डर्टमन्ड र बायर्न विरुद्ध मैदान उत्रनु पर्नेछ। म्यानचेस्टर सिटीले पनि लिगमा पीएसजी र युभेन्ट्सबाट चुनौती पाउनेछ। लिग चरणको खेल तालिका भोलि सार्वजनिक हुनेछ। यो पटकदेखि च्याम्पियन्स लिगमा कुल ३६ टिम सहभागी हुनेछन्।

प्रत्येक टिमले चार होम र चार अवे गरी आठ खेल खेल्नेछन्। यसले पुरानो फर्म्याटको समूह चरणलाई प्रतिस्थापन गरेको छ। शीर्ष ८ मा रहने टिम राउन्ड अफ सिक्सटिनमा छनौट हुनेछन्।

९ देखी २४औं स्थानमा रहने टिमले प्ले अफ खेल्ने अवसर पाउनेछन्। सो भन्दा कम स्थानमा रहने टिम भने युरोपा लिगमा पनि छनौट हुने छैनन्।

राउन्ड अफ सिक्सटिनबाट भने च्याम्पियन्स लिग आफ्नो पुरानै फर्म्याटमा फर्कनेछ।  नयाँ फर्म्याटमा प्रतियोगिता गएसँगै खेल सङ्ख्या १ सय २५ बाट १ सय ८९ पुगेको छ।  १७ सेप्टेम्बरबाट सुरु हुने च्याम्पियन्स लिग जनवरी २९ मा सकिने छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ११:००
Weather Update