चलचित्र विकास बोर्ड अध्यक्षमा दिनेश डिसीसहित तीन जनाको नाम सिफारिस

काठमाडौं— चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीनजनाको नाम सिफारिस भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार दिनेश डिसी, दीपा पाण्डे बस्नेत र राजेश थापा सिफारिस भएका हुन्।

सिफारिस समितिले यी तीनजनाको नाम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसामु सिफारिस गरेको स्रोतले जनायो। सिफारिस गरिएका यी तीनमध्ये कुनै एकजनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ।

मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बेलुका बस्दैछ।  चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको आवेदन परेको थियो। 

गत साउन ९ गते भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि साउन १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको थियो।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:४६
Weather Update