News Griha :: न्यूजगृह
ओली र देउवाविरूद्ध टुँडिखेलमा नाराबाजी गरेको आरोपमा थप एक जना पक्राउ
सोमबार गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागिहरु। फाइल तस्बिर

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी गरेको आरोपमा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले कञ्चनपुरका दीपक सिंह ठगुन्नालाई नियन्त्रणमा लिएको बताए।

सार्वजनिक शान्ति विरुद्धको कसुरमा उनलाई नियन्त्रणमा लिइएको उनले बताए। यसअघि प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ। सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिइसकेको छ

गत सोमबार टुँडिखेलमा गौरा पर्व अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै उनीहरूले कार्यक्रम बिथोल्न खोजेको आरोप छ।

कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारीलगायत उपस्थित थिए।

गौरा पर्वको कार्यक्रममा सहभागी युवाहरूले प्रधानमन्त्री ओलीको नाम लिएर नाराबाजी गरेका थिए। 

नाराबाजीप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका थिए।

साथै कांग्रेस सभापति देउवाले दर्शकदीर्घाबाट होहल्ला भएपछि गौरा पर्वको कार्यक्रम बिथोल्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए।

सम्बन्धित समाचार

टुँडिखेलमा आफूविरुद्ध नारा लागेपछि कड्किए देउवा

टुँडिखेलमा नेताविरुद्ध नाराबाजीः संयम ओली, आक्रोशित देउवा

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  २०:३२
Weather Update