News Griha :: न्यूजगृह
टुँडिखेलमा नेताविरुद्ध नाराबाजीः संयम ओली, आक्रोशित देउवा

काठमाडौं— सुदूरपश्चिमको मौलिक र महत्वपूर्ण पर्व गौरा सोमबार धुमधामका साथै मनाइँदै छ। त्यसैको अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा पनि गौराको कार्यक्रम राखिएको थियो।

प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली र विशिष्ट अतिथि थिए सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा। दुवैले संयुक्त रुपमा दीप प्रज्वलन गरे र कार्यक्रमको उद्‌घाटन गरे।

deuba_oli-1724684766.jpgसिमसिम पानीबीच सुरु भएको कार्यक्रममा नेताहरूको उपस्थितिलाई सहभागीले रुचाएनन्। र दर्शकदीर्घाबाट सुरु भयो, ‘चोर, देश छोड’, ‘..पाराले, दुख पाए साराले’ को नारा।

प्रधानमन्त्री ओली अर्को कार्यक्रममा जानुपर्ने भन्दै पहिला बोलेर निस्कन खोजे। ओलीले मन्तव्य सुरु गरेलगत्तै कार्यक्रममा उपस्थित दर्शकले नाराबाजी र होहल्ला सुरु गरे। ओलीले छोटो मन्तव्य राखे। तर आक्रोशित भीडप्रति उनले सिधा आक्रोश देखाएनन् घुमाउरो असन्तुष्टि व्यक्त गरे।

deuba_oli_1-1724684766.jpgउनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण रहेको उल्लेख गरे। केही नयाँ पुस्तामा सभ्यता र शिष्टता नदेखिएको पनि उनले टिप्पणी गरे। ‘नेपालीको परिचय मेलमिलाप हो।’ उनले भने, ‘तर कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको छ।’

 सधैँजसो निकै लामो भाषण दिने प्रधानमन्त्री ओलीले होहल्ला र नाराबाजीका कारण कार्यक्रममा लामो बोलेनन्।

जँगिए देउवा
कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बोल्ने बेलामा पनि भीडले नाराबाजी गर्न छोडेनन्।
देउवा मञ्चमा आउनेबित्तिकै होहल्ला र नाराबाजी सुरु भएपछि देउवाले भने आफूलाई सम्हाल्न सकेनन् र जँगिए।

‘लाज पनि छैन। अर्काको कार्यक्रम बिथोल्ने? लाज नभएकाहरू, यही हो नेपालको संस्कृति? यही हो नेपालको चलन? यही सिकेर आएको? बकवासहरु,’ देउवाले आक्रोश पोखे।

​उनले गौरा पर्व बिथोल्नेहरूको कार्यक्रममा घुसपैठ भएको आरोप पनि लगाए।

tudikhel-1724684764.jpg‘यहाँ गौरा पर्व मनाउन आएकाहरू छन्। देउडा खेल्न आएका छन्। यहाँ न अरूको कुरा सुन्छन्। न देउडा खेल्न दिन्छन्। अरूको कार्यक्रम बिथोल्नेहरू छन्। त्यस्तालाई जनताले ठिक पार्नुपर्छ,’ देउवाले थपे। 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  २०:५१
Weather Update