
काठमाडौं— नेपाल लामो समयपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने दाउमा रहेको छ। नेपालले आज २० वर्ष मुनिको साफ च्याम्पियनसिपमा बङ्गलादेशसँग उपाधि भिडन्त गर्दै छ। यी दुईबीचको खेल दिउँसो साढे २ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ।
पहिलो दुई संस्करणको विजेता नेपाललाई त्यसपछि सधैँ साफ उमेर समूहको फुटबलको उपाधिले लोभ्याइरहेको छ। नेपाल सात वर्षपछि साफ उमेर समूहको फुटबल फाइनल खेल्न लागेको हो।
सन् २०१५ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो। सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि रक्षा गरेको थियो।
नेपालका प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले मङ्गलबार फाइनलअघिको पत्रकार सम्मेलनमा फाइनल खेल्ने दुवै टिम राम्रो भएकाले खेल प्रतिस्पर्धात्मक हुने बताए।
यस प्रतियोगितामा नेपाल र बङ्गलादेश एकै समूहमा परेका थिए। समूह चरणमा नेपालले बङ्गलादेशलाई २–१ ले हराएको थियो। उनले फाइनलमा पनि बङ्गलादेशलाई हराएर उपाधि जितेर घरेलु समर्थकलाई खुसी पार्ने बताए। यस प्रतियोगिताको फाइनल दशरथ रङ्गशालामा हुने तय गरिएको थियो तर लगातार पानी परेकाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने भएको छ।
नेपाली टिमका कप्तान कुशल देउवाले फाइनलका लागि आफू र आफ्नो टिम तयार भएको बताए। उनले फाइनलमा विपक्षीको कमीकमजोरीलाई अध्ययन गरेर र आफ्नो कमीकमजोरी सुधारेर राम्रो खेल खेल्ने प्रतिबद्धता जनाए। बङ्गलादेशका प्रशिक्षक मरुफुल हकले फाइनलमा आफू नेपालको तेज फरवार्ड लाइनबाट चिन्तित भएको बताए।
समूह ‘ए’ मा समूह विजेता बन्ने क्रममा नेपालले श्रीलङ्का र बङ्गलादेशलाई पराजित गरेको थियो। पहिलो खेलमा नेपालले श्रीङ्कालाई १–० ले पराजित गरेको थियो। त्यसपछि नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराएको थियो। समूह चरणमा श्रीलङ्कालाई २–० ले हराएपछि बङ्गलादेशले फाइनल पुग्न भारतलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेको थियो । बङ्गलादेश तेस्रो पटक फाइनल खेल्दै छ।
यसअघि सन् २०१९ र २०२२ मा बङ्गलादेश फाइनल पुगेको थियो तर दुवै पटक भारतसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। सन् २०१७ मा नेपाल च्याम्पियन बन्दा पनि बङ्गलादेश उपविजेता बनेको थियो।