साफ यू-२० च्याम्पियनसिपः पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दै

काठमाडौं— काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदै छन्। सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दैछ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि सुरु हुने छ। यस प्रतियोगितामा नेपाल समूह 'ए' का दुवै खेल जितेर समूह विजेता हुँदै सेमिफाइनल खेल्दै छ।
नेपालले समूह चरणमा श्रीलंकालाई १-० ले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै भुटान भने समूह 'बी' मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दै छ।
भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गरेको थियो भने भारतसँग १-० ले पराजित भएको थियो। त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने छ।
प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ।
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१ ०७:०७