News Griha :: न्यूजगृह
‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ गीतकार खरेललाई

गण्डकी— प्रसिद्ध सङ्गीतकार अम्बर गुरुङको नाममा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित ‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ पहिलोपटक वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ ।

दुई लाख रुपैयाँ राशिको सो पुरस्कार आगामी शनिबार पोखरामा आयोजना हुने पुरस्कार समारोहमा गीतकार खरेललाई समर्पण गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । छ दशकदेखि निरन्तर गीत लेखनमा साधनारत खरेलले नेपाली सङ्गीतजगत्मा पु¥याएको विशिष्ट योगदानका लागि पुरस्कार प्रदान गर्न लागिएको उनको भनाइ छ ।

पुरस्कारमा नगदसहित ताम्रपत्र र दोसल्ला रहनेछ । साहित्य, कला र सङ्गीतको उत्थानमा क्रियाशील परिवारले नेपाली सङ्गीत क्षेत्रका शिखर व्यक्तित्व अम्बर गुरुङको स्मृति एवम् सम्मानमा गतवर्ष उक्त पुरस्कार स्थापना गरेको थियो । दिवङ्गत गुरुङ नेपाली राष्ट्रगानका सङ्गीतकार, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपतिसमेत हुन् । 

पुरस्कारको कोषमा २० लाख रुपैयाँ रहेको परिवारले जनाएको छ । कोष स्थापनामा विभिन्न सङ्घसंस्था र व्यक्तिले हातेमालो गरेको अध्यक्ष पौडेलले उल्लेख गरे । पुरस्कार कोषलाई बढाएर २५ लाख रुपैयाँ पु¥याउने लक्ष्य लिइएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १५:१६
Weather Update