News Griha :: न्यूजगृह
असुरक्षाको कारण देखाउँदै महिला विश्वकप बंगलादेशबाट यूएई सारियो

काठमाडौं— अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले महिला विश्वकप आयोजनाको स्थल परिवर्तन गरेको छ। 

यसअघि बंगलादेशमा प्रतियोगिताको आयोजना निश्चित गरिएको भए पनि असुरक्षाको कारण देखाउँदै यूएईमा सारिएको हो। बंगलादेशमा शेख हसिना सत्ताच्यूत भएपछि सुरक्षाको कारण देखाउँदै यूएईमा सारिएको हो। 

नवौँ संस्करणको विश्वकप यही आउँदा अक्टोबरमा बंगलादेशमा आयोजना गर्ने आईसीसीको तयारी थियो। तर, आयोजक बंगलादेशको क्रिकेट बोर्ड नै हुने भए पनि प्रतियोगिता स्थल भने यूएई हुने भएको हो।

बंगलादेशको तर्फबाट यूएई क्रिकेट बोर्डले प्रतियोगिता व्यवस्थापन गर्नेछ। अक्टोबर ३ देखि २० तारिखसम्म हुने प्रतियोगिता दुबई र शारजहा अन्तर्राष्ट्रिय रङ्गशालामा हुने भएको छ।

महिलाको विश्वस्तरीय प्रतियोगिताको लागि जिम्बावे र श्रीलंकाले पनि आयोजनाको लागि प्रस्ताव पेश गरेका थिए। तर यि दुवै देशमा सन् २०२६ मा प्रतियोगिता आयोजना गरिने आईसीसीका प्रमुख कार्यकारी गोओफ अलिकार्डिकले सूचना जारी बताएका छन्।

कोभिडले अस्ट्रेलिया र भारतमा प्रतियोगिता आयोजना हुन नसके पछि सन् २०२१ को मेन्स टी२० विश्वकप पनि यूएई र ओमानमा आयोजना गरिएको थियो।

विश्वस्तरीय सुविधा भएको कारण यूएई प्रतियोगिता आयोजना गर्नको लागि सही विकल्प रहेको आईसीसीले जानकारी दिएको छ। 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०७:५१
Weather Update