News Griha :: न्यूजगृह
वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कप सुरु, ४५ ओभरको खेल हुने
तस्बिरः क्यान

काठमाडौं— वर्षाका कारण रोकिएको एसिसी प्रिमियर कप क्रिकेटको कुवेतविरुद्धको सेमिफाइनल खेल पुनः सुरु भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभर बलिङ गर्दै ३ विकेट गुमाएर १ सय ४१ रन जोड्दा त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा वर्षा सुरु भएपछि खेल रोकिएको थियो । 

करिब २ घण्टा खेल रोकिएपछि पुनः सुरु भएको हो । नेपालका लागि कप्तान रोहित पौडेल ४० बलमा ३० रन बनाएर अविजित रहँदा कुशल मल्ल ३० बल खेलेर ३२ रन बनाएर खेलिरहेका छन् । उनीहरूले चौथो विकेटका लागि ६१ रनको अविजित साझेदारी गरिसकेका छन् । 

त्यसअघि ओपनर द्वय: कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका रुपमा नेपालले टिमको स्कोर ७७ रन हुँदा ओपनर कुशल भुर्तेललाई ३९ बलमा ४३ रन बनाउँदा गुमाएको नेपालले त्यसपछि थप ३ रन जोड्दा २ विकेट गुमाउन पुगेको थियो ।

भीम सार्कीलाई ४ बलमा १ रनको अवस्थामा नै गुमाएको नेपालले अर्का ओपनर आसिफ शेखलाई तेस्रो विकेटका रुपमा ३१ रनमा गुमाउन पुग्यो । नेपालले ८० रन बनाउँदा तीन विकेट गुमाएको थियो । कुवेतका लागि एडनन इद्रेसले २ विकेट लिंदा मोहमेद अस्लामले १ विकेट लिए ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । कुवेत समूह ‘बि’ को उप विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका थियो । नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने लक्ष्यमा रहेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १३:१५
Weather Update