News Griha :: न्यूजगृह
इङ्ग्लिस प्रिमियर लिगमा सिटीको सुखद् सुरुवात

काठमाडौं— इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा साविक विजेता म्यानचेस्टर सिटीले सुखद् सुरुवात गरेको छ। पहिलो खेलमा उसले चेल्सीलाई हरायो।

चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा भएको खेलमा सिटीले २–० को सहज जित निकालेको हो। सिटीको जितमा नर्वेली फरवार्ड एर्लीङ हालान्ड र चेल्सीकै पूर्व खेलाडी माटियो कोभाचिचले १–१ गोल गरे।

सिटीका लागि सयौँ खेल खेलिरहेका हालान्डले १८ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए। सन् २०२२ मा सिटीमा आबद्ध भएका उनले ९१ औं गोल गर्ने क्रममा गोलरक्षक रोबर्ट सान्चेजलाई वन भर्सेस वनको अवस्थामा बिट गरेका थिए।

खेलको ८४ औं मिनेटमा कोभाचिचले गोल गर्दै जित पक्का गरे। उनले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेका थिए। चेल्सीका लागि भने नयाँ सिजनको सुरुवात सुखद रहन सकेन।

चेल्सीले नयाँ सिजनका लागि ११ खेलाडी अनुबन्ध गर्ने क्रममा १ सय ८५ मिलियन पाउण्ड खर्च गरिसकेको छ। क्लबमा ४० सिनियर खेलाडी रहँदा अब अन्तिम २५ टोलीमा को रहन्छन् भन्ने चासोको साथ हेरिएको छ।

सिटीले जितका साथ ३ अंक जोडेको छ। गएराति भएको खेलमा ब्रेन्टफर्डले नयाँ सिजनमा विजयी सुरुवात गर्ने क्रममा क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरेको थियो।

प्रतियोगिता अन्तरगत आज टोटनह्याम ह्ट्सपर र लेस्टर सिटी खेल्नेछन्।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०७:१३
Weather Update