काठमाडौं— चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको आवेदन परेको छ।
आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, राष्ट्रिय नाचघरका पूर्वमहाप्रबन्धक राजेश थापा, अभिनेत्री करिश्मा मानन्धर, फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डङ्गोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेत छन्।
गत साउन ९ गते भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि साउन १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको थियो।
आवेदन दिने म्याद बिहीबार सकिएको छ। आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ता दिनका लागि सूचना जारी गर्नेछ।
त्यसपछि, मन्त्रालयले आवेदन दिएका व्यक्तिहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। मन्त्रिपरिषद्ले ती नामबाट एक जनालाई विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ।