
काठमाडौं— नेपाली म्याराथन धावक सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक-२०२४ मा आज महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् ।
सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् । दश दिनअघि नै पेरिस पुगेकी सन्तोषीले त्यहाँको वातावरणमा घुलमिल नै अभ्याससमेत गरेकी थिइन्।
राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्यसहित पेरिस पुगेकी सन्तोषीले म्याराथनको कोर्स देखेर सुरुमा केही हच्किए पनि पुरुष म्याराथनमा इथियोपियाका तोला तामिरले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेपछि उत्साह बढेको बताएकी छन्।सन्तोषीले आफूले गरेको अभ्यास अनुसार सक्दो राम्रो गर्न प्रयास गर्ने बताइन्। उनले पहिलो लक्ष्य म्याराथन पूरा गर्ने र त्यसपछि कीर्तिमानमा केन्द्रित हुने बताइन्।
सन् २०१९ मा काठमाडौंमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण जितेर गोल्डेन गर्लको रुपमा उदाएकी सन्तोषीले ओलम्पिकमा भने म्याराथन दौडन लागेकी हुन्। उनले मध्यम दूरीबाट दौड सुरु गर्दै हाफ म्याराथन अनि म्याराथन दौडन थालेकी हुन्।
बंगलादेशको ढाकामा भएको बंगबन्धु म्याराथनमा कीर्तिमानी स्वर्ण जितेपछि सन्तोषीले ओलम्पिकमा सभागी हुने अवसर पाएकी हुन्। उनले अन्तर्राष्ट्रिय डेब्यु म्याराथनमै २ घण्टा ४६ मिनेट २३ सेकेन्डको कीर्तिमानी समयमा स्वर्ण जितेकी थिइन्।
पेरिस ओलम्पिकमा नेपालमा यसअघि ६ खेलाडीले आफ्नो प्रतिस्पर्धा सकाएर फर्किसकेका छन्। पौडीका अलेक्जान्डर शाहले राष्ट्रिय कीर्तिमान सुधार गर्नु बाहेह अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन।
शाहसहित पौडीकै डुवाना लामा, टेबल टेनिसका श्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएका थिए।