News Griha :: न्यूजगृह
पेरिस ओलम्पिक आज सकिँदै, पदकमा चीन र अमेरिकाको कडा टक्कर

काठमाडौं— पेरिस ओलम्पिक २०२४ आज समापन हुँदैछ।​ ओलम्पिक प्रतियोगिता उद्‌घाटन भएको १६ दिन र समग्रमा लगभग तीन साता चलेको हो।

स्टेड डे फ्रान्समा आयोजित हुने ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।सेन नदीमा आयोजित उद्‌घाटन समारोहको विपरित, ओलम्पिक समापन समारोह ८० हजार दर्शक माझ स्टेड डे फ्रान्समा भित्र हुनेछ। समापन समारोहमा खेलाडीहरूको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई सेलिब्रेट गरिने छ।

समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाइने छ भने लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरिनेछ। प्रतियोगिताको अन्तिम दिन चलिरहँदा आजसम्म चीन तालिकाको अगाडि रहेको छ। चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ काश्यसहित ९० पदक जितेको छ।

अमेरिकाले हालसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ काश्यसहित कुल १ सय २२ पदक जितेको छ। तेस्रो स्थानमा यथावत अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १८ काश्य सहित कुल ५० पदक जितेको छ। पदक तालिकाको चौथो स्थानमा उक्लिएको जापानले अहिलेसम्म १८ स्वर्ण, १३ रजत र १३ काश्यसहित कुल ४३ पदक जितेको छ।

१६ स्वर्ण २४ रजत र २२ काश्य जितेको  फ्रान्स पाँचौँ स्थानमा छ। आयोजक फ्रान्सले १४ स्वर्णसहित कुल ६२  पटक हात पारेको छ। दक्षिण कोरिया, नेदरल्याण्ड्स र जर्मनी क्रमशः सतौँ आठौँ, र नवौँ स्थानमा छन्।

इटाली एक स्थान तल झर्दै १०औं स्थानमा पुगेको छ। पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्ये ९१ देशले कम्तिमा एक पदक जितेका छन्।

ओलम्पिक अन्तर्गत आज थप १३ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ। 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०८:०४
Weather Update