News Griha :: न्यूजगृह
स्पेनले जित्यो पेरिस ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण

काठमाडौं— आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५–३ ले पराजित गर्दै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ।

शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित निकालेको हो।

स्पेनले ओलम्पिकमा पुरुष फुटबलका जितेको यो दोस्रो स्वर्ण हो । यसअघि सन् १९९२ मा स्पेनले स्वर्ण जितेको थियो। १९८४ मा पहिलो पटक फुटबलमा स्वर्ण जितेको फ्रान्सको घरेलु मैदानमै स्वर्ण जित्ने चाहना भने पूरा हुन सकेन।

निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। जहाँ कामेलोले १००औं मिनेटमा गोल गर्दै स्पेनको अग्रता ४–३ बनाएका थिए भने अतिरिक्त समयको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको जित सुनिश्चित गरे।

त्यसअघि खेलको सुरुमा फ्रान्सले गोल गर्दै अग्रता लिएपनि कायम राख्न सकेन। एन्जो मिलोटले ११औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर फर्मिन लोपेजले १८औं मिनेटमा स्पेनका लागि बराबरी गोल गरे। पर्मिनले नै २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाएका थिए । एलेक्स बाएनाले २८औं मिनेटमा गोल गरेपछि स्पेनले पहिलो हाफको आधा घण्टामै ३–१ को अग्रता बनायो।

निर्धारित समयमै स्पेनले खेल जित्ने संकेत देखाएको थियो। तर फ्रान्सले पनि पुनरागमन गर्‍यो। ७९औं मिनेटमा मागनेस अच्लिउचोले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए। त्यसपछि दोस्रो हाफको इन्जुरी टाइममा जिन फिलिपि माटेटाले पेनाल्टीमा गोल गरेपछि फ्रान्सले खेल ३–३ को बराबरी गर्दै अतिरिक्त समयमा पुर्‍याए। अतिरिक्त समयमा कामेलो नायक बन्दा स्पेनले खेल जित्यो।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०८:१०
Weather Update