काभा भलिबलः प्रधानमन्त्री ओली नेपाल र भारतबीचको फाइनल खेल हेर्न जाने

काठमाडौं— काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि बुधबार नेपालले भारतसँग खेल्दैछ।
उक्त फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्ड हल जाने भएका छन्।
प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएअनुसार प्रधानमन्त्री सवा चार बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्ड हल पुग्नेछन्।
कभर्ड हलमा साँझ ५ बजे नेपाल र भारतबीच उपाधिका लागि खेल हुनेछ।
बुधबार सेमिफाइनलमा इरानलाई हराएर नेपाल फाइनल प्रवेश गरेको थियो। भारत श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको थियो।
यसअघि नेपालले समूह चरणमा भारतमाथि ३–२ को जित निकालेको थियो।
सो जित नेपाली महिला भलिबलले भारतविरुद्ध हात पारेको पहिलो जित थियो।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ ०९:४३