News Griha :: न्यूजगृह
काभा महिला भलिबल: तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं— काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल आफ्नो तेस्रो खेलमा पराजित भएको छ। यसअघि लगातार दुई खेलमा जित निकालेको नेपाल आइतबार इरानसँग ३–२ सेटमा पराजित भएको हो।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा नेपाल पहिलो सेटमा इरानलाई २५–१६ ले नतिजा सुम्पियो।

दोस्रो सेटमा नेपाल २५–१६ ले नै विजयी भयो। तर तेस्रो सेट फेरि इरानले २५–२३ ले जित्यो। चौथो सेट २५–१५ ले जित्दै खेलमा नेपालले २–२ को बराबरी गर्‍यो।

निर्णायक पाँचौं सेटमा इरान १५–१३ ले वियजी भएसँगै नेपालले अन्तिम अवस्थामा खेल गुमायो।

यसअघि नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी भारतमाथि ३–२ सेटमा जित निकालेको थियो। पहिलो खेलमा नेपालले श्रीलंकामाथि ३–० को सेटमा जित निकालेर विजयी सुरूवात गरेको थियो।

अब नेपालले समूहको अन्तिम खेलमा भोलि माल्दिभ्ससँग खेल्नेछ।

नेपाल, इरान, श्रीलंका, भारत र माल्दिभ्स गरी पाँच टोली सुरूमा एकआपासमा भिड्नेछन्। लिग चरणमा पुछारको पाँचौं स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछ। शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउँनेछन्। सेमिफाइनल अगस्ट ६ र फाइनल खेल अगस्ट ७ मा हुनेछ।

अगस्ट ६ मा लिगको शीर्ष स्थानको टोली र चौथो स्थानमा रहने टोलीबीच तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच सेमिफाइनल हुनेछ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  २०:०२
Weather Update