News Griha :: न्यूजगृह
भारतविरुद्धको ऐतिहासिक जितपछि कप्तान अरुणा भन्छिन्– हाम्रो लक्ष्य पूरा भएको छैन
फाइल तस्बिर।

काठमाडौं— नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले भारतविरुद्धको ऐतिहासिक जितमा आफ्नो टोली सीमित नरहने बताएकी छन्।
भारतविरुद्ध पहिलोपटक जित निकाल्नु खुसीको क्षण रहे पनि आफ्नो टोलीको लक्ष्य अझै पनि बाँकी रहेको उल्लेख गर्दै उनले लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने बताएकी हुन्। 

नेपालले शनिबार भारतमाथि ३–२ को जित निकाल्दै छिमेकी प्रतिद्वन्दीविरुद्ध पहिलोपटक सफलता पाएको हो। यद्यपि नेपालकी कप्तान अरुणाले समूह चरणका खेल बाँकी रहेको अबको लक्ष्य इरानजस्तो बलियो टोलीलाई हराउनु पनि रहेको उल्लेख गरेकी हुन्।

साथै उनले जितबाट धेरै उत्साहित नभई सेमिफाइनल र फाइनलतर्फको खेलमा ध्यान दिने पनि धारणा राखिन्। यद्यपि जितबाट तत्काल धेरै खुसी भएको समेत प्रतिक्रिया दिइन्। राम्रो सुरुवातका बाबजुद लय बिग्रिए पनि रिकभर गर्न सफल भएको अरुणाको भनाइ थियो।

नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले सन् २०१६ पछि नेपाली महिला भलिबलको स्तर क्रमशः वृद्धि भइरहेको प्रतिक्रिया दिएका छन्।

भारतविरुद्ध पछिल्लोपटक कडा प्रतिस्पर्धा हुँदै आए पनि जित्न नसकेको उल्लेख गर्दै प्रशिक्षक भट्टले शनिबार जित निकाल्दै इतिहास रचेको बताएका छन्। यद्यपि उनले बलियो टोली इरानविरुद्ध खेल्न बाँकी रहेकाले उपाधिका लागि धेरै मेहनत गर्न बाँकी रहेको बताए। उनले पनि यो जितबाट धेरै थोक पाइसकेको महसुस आफ्नो टोलीले नगर्ने स्पष्ट पारे।

भारतीय टोलीका प्रशिक्षक जाई नारिनले सुरुवातमा सेट गुमाए पनि आफ्नो टोलीले फाइट ब्याक गरेको बताए। यद्यपि निर्णायक सेटमा केही गल्ती हुँदा खेल गुमाउनु परेको समेत बताए। यद्यपि फाइनलमा पुनः चुनौती दिने उनको विश्वास छ।

भारतीय टोलीकी कप्तान अनुश्रीले नेपाललाई फाइनलमा हराउने अर्को अवसर पनि रहेको बताइन्। 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २१:१३
Weather Update