
काठमाडौं— भारत र श्रीलंकाबीचको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको छ। शुक्रबार सम्पन्न भारत र श्रीलंकाबीचको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको हो।
श्रीलंकाले दिएको २३१ रनको लक्ष्य पछाएको भारतले ४७.५ ओभरमा अल आउट हुँदै २३० रन नै बनाएपछि खेल टाई भएको हो। जितको नजिक पुगेको भारतले ४८ ओभरका पछिल्ला दुई बलमा २ विकेट गुमाएपछि खेल टाई भएको हो।
भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाएका थिए भने अक्सर पटेलले ३३, केएल राहुलले ३१, शिवम् दुवेले २५, विराट कोहलीले २४ र श्रेयस अय्यरले २३ रनको योगदान दिएका थिए।
त्यस्तै श्रीलंकाका बलर वानिन्दु हसरंगा र चरिथ असलंकाले ३-३ विकेट लिए भने दुनिथ वेल्लालागेले २ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको थियो।
श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्बाधिक ६७ रन बनाएका थिए भने पाथुम निसान्काले ५६ रन बनाएका थिए। त्यस्तै वानिन्दु हसरंगाले २४, जनिथ लियानागेले २० रन बनाएका थिए। त्यसैगरी अकिला धनन्जयले १७ तथा कुसल मेन्डिस र कप्तान चरिथ असलंकाले १४-१४ रन बनाएका थिए।
त्यसैगरी भारतीय बलर अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए। त्यस्तै मोहमद सिराज, शिवम् दुवे, कुलदीप यादव र वाशिंगटन सुन्दरले एकएक विकेट लिएका थिए।
यो खेल टाई भएपछि अब सिरिजको दोस्रो खेल आइतबार हुने छ।