News Griha :: न्यूजगृह
ए डिभिजन लिगमा एपीएफले फ्रेण्ड्ससँग बाँड्यो अंक

काठमाडौं— विभागीय टोली नेपाल एपीएफ क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार फ्रेण्ड्स क्लबसँग बराबरीमा रोकिएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालको मैदानमा सम्पन्न खेलमा एपीएफले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा दोस्रो हाफमा गोल खाँदै १–१ को बराबरी खेलेको हो । यससँगै दुवै टोली १३ औं चरणको खेलमा १–१ अंक बाँड्दै पहिलो राउण्डको लिगमा बिट मारेका छन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले स्पष्ट तीन अंकका लागि खेलेका थिए । सुरुआतबाटै फ्रेण्ड्समाथि आक्रामक रणनीति अपनाउँदै खेलेको एपीएफले २७ औं मिनेटमा प्रदिप लामाको पासमा अग्रता निकालेको थियो ।

कप्तान नविन लामाले पेनाल्टी बक्स बाहिर अनमार्क रहेका प्रदीपलाई दिएका थिए र उक्त अवसरलाई प्रदिपले गोलमा परिणत गर्न सफल भएका थिए । त्यसपछि पनि पहिलो हाफको खेल अवधिभर बारम्बार प्रयास गरेको एपिएफले थप गोल गर्न सकेन ।

दोस्रो हाफमा फ्रेण्ड्सले सुधारिएको प्रदर्शन गर्‍यो । ५२ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई खेलमा फर्काए । बाँकी समयमा पनि थप गोलका लागि प्रयास गरेको फ्रेण्ड्सबाट थप सफल हुन सकेन र दुवै टोलीले निर्धारित ९० मिनेटको खेल १–१ बराबरी खेल्दै अंक बाँडेका हुन् ।

यससँगै विभागीय टोली एपीएफले जारी लिगमा तेस्रो बराबरी खेलेको छ । एपीएफले १३ खेल खेल्दा १८ अंक जोडेको छ भने अर्को टोली फ्रेण्ड्सले समान १३ खेलबाट १५ अंक बनाएको छ ।

लिगमा शुक्रबार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल एन्फा मुख्यालयमा न्युरोड टिम (एनआरटी) र थ्रीस्टार क्लवबीच हुनेछ भने दोस्रो खेल दशरथ रंगशालामा हिमालयन शेर्पा  र विभागीय टोली त्रिभुनव आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १९:११
Weather Update