
काठमाडौं— नेपाल महिला एसिया कपबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै बाहिरिएको हो।
भारतले दिएको १७९ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनाएको थियो। नेपालका लागि सिता रानामगरले सर्वाधिक १८ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १५ र कप्तान इन्दु बर्माले १४ रन बनाएकी थिइन्।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो। भारतका लागि सेफाली बर्माले सर्वाधिक ८१ रन बनाएकी थिइन् भने दयालान हेमालताले ४७ रन बनाएकी थिइन्। त्यस्तै जेमीनाह रोड्रीगेजले २८ र संजीवन सजनाले १० रन बनाएकी थिइन्।
त्यसैगरी नेपाली बलर सिता राना मगरले २ र कविता जोशीले एक विकेट लिएकी थिइन्। यो जितसँगै भारतले समूह चरणमा लगातार तीन खेल जितेर समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ भने पाकिस्तान उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ।
त्यस्तै समूह ए बाट नेपालले ३ खेलमा एक खेल जितेर २ अङ्कसहित तेस्रो हुँदै बाहिरिएको छ। समूह ए बाट यूएईले तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ।