News Griha :: न्यूजगृह
साउदी लिग जाने चर्चामा यी प्रिमियर लिगका स्टार खेलाडी

काठमाडौं— क्रिस्टियानो रोनाल्डो र नेइमार जस्ता सुपरस्टार खेलाडी साउदी प्रो लिगमा गएपछि अहिले साउदी फुटबल ठूला खेलाडीको लक्ष्य हुन थालेको छ।

अहिले खेलाडीको ट्रान्सफर विन्डो खुली रहेको बेला प्रिमियर लिगका ठूला खेलाडीले साउदी लिग जाने तयारी गरेका छन्।

यस रिपोर्टमा साउदी प्रो लिगमा जानसक्ने प्रिमियर लिगमा खेलिरहेका हाइ प्रोफाइल खेलाडीको बारेमा चर्चा गर्दै छौँ।

यस सूचीमा सबै भन्दा अगाडि आर्सनलबाट खेलिरहेका ब्राजिलका गाब्रियल जिससको नाम रहेको छ। आर्सनलमा पर्याप्त खेल समय नपाएका कारण असन्तुष्ट रहेका जिसस साउदी क्लब अल अहलीमा जानसक्ने बताइएको छ।

हाल ब्राजिलको टिममासमेत नपरेका जिसस उनको पूर्व क्लब म्यानचेस्टर सिटीका सहकर्मी रियाद महरेजसँग पुनर्मिलन हुनसक्ने बताइएको छ।

त्यस्तै ब्राजिलकै अर्को खेलाडी रिचार्लिसनले पनि साउदी लिग जान सक्ने बताइएको छ। हाल टोटनह्यामबाट खेलिरहेका रिचार्लिसनलाई अल अहली क्लबले नै चासो देखाएको छ। यसअघि उनी अल हिलाल जाने चर्चा रहेको थियो।

साउदी जाने ठुलो खेलाडीको सूचीमा बेल्जियमका प्लेमेकर केभिन डी ब्रुनेको नाम अगाडी आएको छ। हाल म्यानचेस्टर सिटीबाट खेलिरहेका ब्रुनेले सिटी छोड्ने लगभग निश्चित रहेको बताइएको छ।

मिडिया रिपोर्टका अनुसार ब्रुनेले साउदी क्लब अल इत्तिहादसँग मौखिक सहमति गरिसकेको बताइएको छ। ब्रुने आफैले पनि केही समय अघि युरोपमा दश वर्ष खेल्दा कमाएको पैसा साउदीमा एक वर्षमा कमाउन सक्ने भन्दै आफू नजिकका सबैले साउदी जान भनिरहेको बताएका थिए।

त्यस्तै ब्राजिलियन गोलकिपर एडरसन पनि साउदी क्लब जाने लाइनमा रहेका छन्। हाल म्यानचेस्टर सिटीबाट खेलिरहेका एडरसनलाई साउदी क्लब अल इत्तिहादले अफर गरेको बताइएको छ।

त्यसैगरी हाल लिभरपुलबाट खेलिरहेका ब्राजिलका अर्का गोलकिपर एलिसन बेकरलाई साउदी क्लब अल नासरले अफर गरेको बताइएको छ।  उनको लिभरपुलका पूर्व सहकर्मी साडियो मानेसँग अल नासरमा पुनर्मिलन हुनसक्ने बताइएको छ।

त्यस्तै लिभरपुलका स्टार खेलाडी मोहमद सलाहको नाम पनि साउदी लिग जानसक्ने खेलाडीको सूचीमा रहेको छ। सलाहलाई साउदी क्लब अल इत्तिहादले १५० मिलियन युरोको अफर गरेको बताइएको थियो।

उनको लिभरपुलमा अब एक वर्ष सम्झौता रहेको छ। यस अवस्थामा उनी लिभरपुलमा खेलिरहने वा क्लब छोड्ने भन्ने विषय अझै स्पष्ट रहेको छैन। तर उनलाई साउदी क्लबले भित्र्याउने पहल भने गरिरहेका छन्।

त्यस्तै हाल म्यानचेस्टर युनाइटेडमा खेलिरहेका ब्राजिलियन खेलाडी क्यासेमिरोलाई भित्र्याउन अल नासर र अल इत्तिहादले इच्छा देखाएका छन्। म्यानचेस्टर युनाइटेडले पनि क्यासेमिरोलाई बेच्ने बताइएको छ। युनाइटेडले क्यासेमिरोलाई ३० मिलियन युरोमा बेच्ने बताइएको छ।

त्यसैगरी ब्राजिलियन मिडफिल्डर लुकास पाक्वेटा पनि अल नासरमा जाने सक्ने चर्चा चलेको छ। त्यसैगरी चेल्सीबाट खेलिरहेका स्पेनका गोलकिपर केपा आरिजाबालागा पनि साउदी क्लबको निशानामा रहेका छन्।

उनलाई अल इत्तिहादले चासो देखाएको मिडिया रिपोर्टमा बताइएको छ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ११:००
Weather Update