
काठमाडौं— एसीसी महिला एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ।
नेपाले दिएको १०९ लक्ष्य पाकिस्तानले एक विकेटको क्षतिमा ११ दशमलब ५ ओभरमै पुरा गर्यो।
श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेसनल स्टेडियम’ मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोडेको थियो।
पाकिस्तानको जितका लागि गुल फेरोजाले ५७ रन बनाइन् भने मुनिबा अली ४६ रनसहित नटआउट रहिन्।
खराब सुरुवात गरेको नेपालका ओपनर सम्झना खड्का ४ रनमै आउट भइन्। त्यसपछि कविता कुँवरले १३ रन जोड्दा कप्तान इन्दु बर्मा डकआउट भइन्।
अनुभवी रुबिना क्षेत्री पनि ८ रनमा आउट भएपछि नेपालमाथि दबाब थपिएको थियो। ओपनिङ ब्याटर सीता रानामगर २६ रनमा बनाएर आउट भइन्। रुबिना र सीता दुवै रनआउटको सिकार बनेका थिए।
त्यसपछि छैटौं विकेटका लागि कविता जोशी र पूजा महतोले ३४ रनको साझेदारी गरेपछि नेपाललाई राहत भएको थियो। अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि पूजाले ३२ बलमा ३ चौका प्रहार गर्दै २५ रन बनाइन्।
कविताले नटआउट ३१ रन जोडिन्। उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरेकी थिइन्।
पहिलो खेलमा यूएईलाई पराजित गरेको नेपालले दोस्रो खेलमा भने हार्यो।