News Griha :: न्यूजगृह
महिला एसिया कप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दै

काठमाडौं— श्रीलङ्कामा जारी नवौँ संस्करणको महिला एसिया कपमा नेपालले आइतबार आफ्नो दोस्रो खेल खेल्दैछ।

दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यो खेल नेपाली समयअनुसार साँझ सवा ७ मा सुरु हुनेछ। नेपालले पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीसँग टी२० आई मान्यताप्राप्‍त खेल भने पहिलोपटक खेल्न लागेको हो।

सन् २०१६ को एसिया कपमा नेपाल र पाकिस्तानबीच खेल भएको थियो। तर, सो समयमा नेपाली टोलीले आईसीसीबाट टी२० आई मान्यता प्राप्त नगरेको भएर खेल टी२० मान्यताको मात्र भएको थियो।

२०१८ पछि आईसीसीले हरेक सदस्य राष्ट्रबीचको टी२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने नियम बनाएपछि नेपालका हरेक खेल अन्तर्राष्ट्रिय मान्यताका हुँदै आएका छन्।

२०२४ को नवौँ संस्करणको एसिया कपको पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो। पाकिस्तान भने भारतसँग सात विकेटले पराजित भएको थियो। यो खेल नेपाली महिला क्रिकेट टिमको पहिलो रात्रिकालीन क्रिकेट पनि हुनेछ।

नेपालले आजको खेल जिते सेमिफाइनल सम्भावनालाई बलियो बनाउने छ। आजै हुने अर्को खेलमा यूएईको महिला टोली र भारतीय महिला टोली भिड्ने छन्। समूह एमा रहेका यी चार टोलीमा भारत एक खेल जितेर तालिकाको शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०८:१४
Weather Update