News Griha :: न्यूजगृह
नेपालको कमजोर प्रदर्शन, कतारलाई दियो १५८ रनको सामान्य लक्ष्य

काठमाडौं— एसीसी प्रिमियर कपमा सन्दीप लामिछानेले नट आउट ४२ रनको योगदान दिएपछि नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको छ । 

५८ बलमा ६ चौका प्रहार गरेका उनले ४२ रन जोडेका हुन् । नेपालले ४०.३ ओभरमा पूरै १० विकेट गुमाएर १५७ रन जोडेको हो । 

नेपालले एसीसी प्रिमियर कपमा कतारसामु कमजोर प्रदर्शन गर्‍यो । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल कतारका बलरसामु खुल्न सकेनन् । 

नेपालका लागि कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११ रनको योगदान दिए । यस्तै, कुशल भुर्तेल २, भीम सार्की ६, कुशल मल्ल ३, गुल्सन झा ७ र ललित राजवंशी १ रनमा आउट भए ।

ओपनर कुशल भुर्तेल ८ बलमा २ रन बनाएर आउट भए । उनलाई गेयन मुनावीराको बलमा खुर्राम शहजादले क्याच आउट गराए । 

आशिफ शेखले २७ बलमा १९ रन जोडे । उनलाई इक्रामुल्लाह खानको बलमा मुहम्मद तनवीरले क्याच आउट गरे । 

नेपालका लागि कप्तान रोहित पौडेलले २७ रन बनाए । ३६ बलको सामना गरेका उनलाई ओवाइस् अहमेदको बलमा लियनागेले क्याच आउट गराए । 

कतारका लागि अमिर फारूकले चार, ओवेस अहमेदले समान तीन, गेयन मुनावीराले दुई तथा इक्रामुल्लाह खानले एक विकेट लिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १२:२८
Weather Update