
काठमाडौं— स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ । म्याड्रिडमा बुधबार राति भएको खेलमा घरेलु टोली भालेकानोसँग बार्सिलोना पराजित भएको हो ।
भालेकानो २–१ ले विजयी हुँदा शीर्षस्थानको बार्सिलोना स्तब्ध हुन पुगेको छ । खेलको १९औं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि भालेकानो १–० ले अघि बढेको थियो । भालेकोनाको गोल पोष्टमा गोल हान्ने अनवरत प्रयास गरे पनि अन्ततः बार्सिलोना पहिलो हाफमा नै १–० ले पछि पर्न पुग्यो ।
दोस्रो हाफको सुरुवाती अर्थात् ५३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै रायो भालेकानोलाई २–० को अन्तरले अग्रता दोब्बर बनाए । तर ८३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए पनि थप गोल गर्न नसक्दा बार्सिलोनाले पराजय भोग्नुपर्यो ।
यस सिजनमा ला लिगामा तेस्रो हार बेहोरेको बार्सिलोनाले ३१ खेलबाट ७६ अंक जुटाएको छ भने भालेकानो ४३ अंकसहित नवौं स्थानमा उक्लिएको छ ।