News Griha :: न्यूजगृह
आर्सनलको पोष्टमा सिटीको गोल वर्षा 

काठमाडौं— इंग्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्न पुगेको छ ।दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि सानदार जित दर्ता गरेपछि उपाधि होड रोमाञ्चक बन्न पुगेको हो ।

सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा आर्सनलमाथि ४–१ को जित निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । आर्सनललाई हराएको सिटीले अब खेल्न बाँकी रहेको दुई खेलमा विजयी भएमा ४ अंकले अघि बढने छ ।

बुधबार राति भएको खेलको सातौं मिनेटमा केभिन डि ब्रुएनाले सुरुआती गोल गरेर खेललाई १–० को अघि बढाए । पहिलो हाफको इन्ज्यूरी समयमा जोन स्टोन्स थप अर्को गोल गर्दै सिटीको अग्रता दोब्बर पारिदिए  ।

दोस्रो हाफको ५४औं मिनेटमा ब्रुएनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । तर ८६औं मिनेटमा आर्सनलका रोब होल्डिङले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।

सिटीले दोस्रो हाफको इन्ज्यूरी समयमा पनि गोल हानिदियो । हालान्डले फिल फोडेनको पासमा अन्तिम गोल गरे । अन्ततः सिटीले ४–१ को सानदार जितसहित उपाधि होडमा आफूलाई अब्बल सावित गरेको छ ।

यस खेलसँगै आर्सनल र सिटीको दुई अंकको मात्रै फरक परेको छ । शीर्षस्थानमा रहेको आर्सनलको ३३ खेलबाट ७५ अंक छ भने सिटीले ३१ खेलबाट ७३ अंक बटुलेको छ । बाँकी रहेका दुबै खेलमा जित हासिल गरे सिटीले आर्सनललाई  ४ अंकले पछि पार्नेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०७:२१
Weather Update