
काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मच्छिन्द्र क्लब र थ्रीस्टार क्लब गोलरहीत बराबरीमा रोकिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलरहीत बराबरी खेल्दै अंक बाँडेका हुन् ।
मध्ययम सुरुआत भएको खेलको दोस्रो हाफमा भने दुवै टोलीले प्रतिस्पर्धात्मक खेल देखाएका थिए । तर दुवै टोलीले केही सुन्दर मौका बनाए पनि सफल हुन भने सकेनन् ।
खेलको सुरुमै अफिज ओलावालेको पासमा चेन्चो ग्याल्नेनले गरेको प्रहार गोलपोष्टमा लागेर फर्कियो । ६८ औँ मिनेटमा थ्रीस्टारले गरेको गोलमा रेफ्रीले अफसाइडको संज्ञा दिँदा थ्रीस्टार निराश भएको थियो ।
लगत्तै मच्छिन्द्रका ओलावाले अफीजको प्रहार थ्रीस्टारका गोलकिपरले बचाएका थिए । ८४ औँ मिनेटमा चेन्चो ग्याल्चेनले फ्रिकिकमा गरेको प्रहार थ्रीस्टारका गोलकिपर पन्च गर्दै फर्काए । खेलको इन्जुरी समयमा मच्छिन्द्रले दबाब बढाउँदै केही राम्रा प्रहार गरे पनि गोल भने गर्न सकेन ।
शीर्षस्थानको होडमा रहेको थ्रीस्टारलाई बराबरीले धक्का लागेको छ भने मच्छिन्द्रले लिगमा स्थान सुधार गर्ने मौका गुमाएको छ । योसँगै १२ औं चरणको खेलपछि थ्रीस्टार २२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा कायम छ भने मच्छिन्द्रको समान १२ खेलबाट १७ अंक जोडेर सातौं स्थानमा छ । समान अंक भएको एपीएफ गोल अन्तरको आधारमा छैठौं स्थानमा छ ।
लिग अन्तर्गतबुधबार नै भएको अर्को खेलमा सातदोबाटो युवा क्लबले संकटा क्लबमाथि ४–० को सहज जित निकाल्यो । च्यासल मैदानमा सातदोबाटोलाई जित दिलाउन विलियम असाइडु र दीपकराज सिंह ठकुरीले समान दुई/दुई गोल गरे ।
सुरुआतबाट नै आक्रामक हुँदै खेलेको सातदोबाटोले खेलको १० औं मिनेटमा असाइडुको गोलमार्फत अग्रता लिएको थियो । सुशील लामाको क्रसलाई असाइडुले गोलमा परिणत गरेका थिए । त्यसको ९ मिनेटपछि असाइडुले नै टोलीको अग्रता दोब्बर बनाए ।
पेनाल्टी बक्स बाहिरबाट आसाइडुको प्रहार संकटाका गोलकिपर टिकेन्द्रसिंह थापालाई लाग्दै गोलमा परिणत भएको थियो । दुई गोलको अग्रता बनाएको सातदोबाटोले ६८ औं मिनेटमा असाइडुको पासमा दीपकले गोल गर्दा सातदोबाटो ३–० ले अघि बढ्यो ।
८३ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को सहज जित निश्चित गरे । यस जितसँगै १२ खेलमा २१ अंक जोडेको सातदोबाटो तेस्रो स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको संकटा समान खेलबाट १५ अंकका साथ नवौं स्थानमा छ ।
लिगमा बिहीबारबाट १३ औं चरणका खेल सुचारु हुनेछन् । बिहीबार पहिलो खेल फ्रेण्ड्स क्लबले एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दा अर्को खेल खुमलटार युथ क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् ।