News Griha :: न्यूजगृह
हसरंगाले छोडे श्रीलङ्का क्रिकेट टिमको कप्तानी

काठमाडौं— श्रीलङ्काली स्पिनर वानिन्दु हसरंगाले टी२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानीबाट राजीनामा दिएका छन्। भारतसँग यसै महिनाको अन्त्यमा हुने तीन टी२० र तीन एकदिवसीय शृङ्खलाअघि उनले कप्तानी पदबाट राजीनामा दिएका हुन्।

भारत र श्रीलङ्काबीचको शृङ्खला टी२० सिरिजबाट सुरु हुनेछ, जसको पहिलो खेल २६ जुलाईमा हुनेछ। श्रीलङ्का क्रिकेट बोर्डका अनुसार हसरंगाले आफ्नो राजीनामा पत्रमा आउने नेतृत्वलाई पूर्ण समर्थन गर्ने वाचा गरेका छन्।

‘एक खेलाडीको हैसियतमा श्रीलङ्काका लागि म सधैँ आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु। साथसाथै टोली र नेतृत्वलाई पनि पूर्ण समर्थन गर्नेछु,’ पत्रमा भनिएको छ।

हसरंगाले टी२० विश्वकपमा श्रीलङ्काली टोलीको कप्तानी गरेका थिए। तर, उनको कप्तानीमा श्रीलङ्काले राम्रो प्रदर्शन गर्न सकेन र प्रतियोगिताको समूह चरणबाटै बाहिरियो।

श्रीलङ्काले प्रतियोगितामा नेदरल्याण्ड्सलाई मात्रै पराजित गर्न सकेको थियो। बङ्गलादेश र दक्षिण अफ्रिकासँग हार बेहोरेको श्रीलङ्काले नेपालसँग भने वर्षाका कारण एक अङ्क बाँडेको थियो।

हसरंगा कप्तानको भूमिकामा एकदमै नयाँ थिए। उनलाई कप्तानबाट हटाउन दबाब थिएन। हसरंगाले पनि यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) भन्दा श्रीलङ्काबाट खेल्न प्राथमिकता दिएका थिए।

हालै क्रिस सिल्भरउडले श्रीलङ्काको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन्। त्यसैले पूर्वक्रिकेटर सनथ जयसूर्यालाई श्रीलङ्काको अन्तरिम प्रशिक्षकमा नियुक्त गरिएको छ। जयसूर्याले भारतविरुद्धको घरेलु टी२० र एकदिवसीय शृङ्खला मार्फत प्रशिक्षकमा डेब्यु गर्नेछन्। 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १०:३४
Weather Update