News Griha :: न्यूजगृह
यूएई सेमिफाइनलमा प्रवेश

काठमाडौं— एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (यूएई) सेमिफाइनलमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बहराइनलाई आठ विकेटले पराजित गर्दै यूएई प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । 

यूएईले छ अङ्क जोड्दै समूह ‘बी’बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । यससँगै समूह चरणमा चार खेल खेलेको यूएईले तीन खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । 

पहिले ब्याटिङ गरेको बहराइनले यूएईलाई जितका लागि एक सय १७ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा यूएईले २७ दशमलव चार ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । 

यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ८४ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ६२ रन बनाए । त्यसैगरी रोहन मुस्तफाले ५० रन जोडे । उनले ५६ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गर्दै अविजित ५० रन बनाए । 

बलिङतर्फ बहराइनका अब्दुल मजितले दुई विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनका लागि अलि दवद र हैदर बुटले समान २३÷२३ रन जोडे भने मुहम्मद युनिसले १६ तथा इमरान अनवरले १४ रन बनाए । वासिक अहमदले १२ तथा अब्दुल मजितले ११ रन बनाए । 

बहराइनलाई एक सय १६ रनमा समेट्नेक्रममा युएईका आयन अफजल खान एक्लैले चार विकेट झारे भने रोहन मुस्ताफा र कात्तिक मैयप्पानले समान दुई÷दुई विकेट लिए । यस हारसँगै बहराइन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १५:५४
Weather Update