News Griha :: न्यूजगृह
गौतम गम्भीर बने भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक

काठमाडौं— पूर्व क्रिकेटर गौतम गम्भीर भारतीय राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका छन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएका छन्।

भारतले २०११ को विश्वकप जित्दा टिमका महत्वपूर्ण खेलाडी रहेका गम्भीर हाल आईपीएल टिम कोलकाता नाइट राइडर्सका मुख्य प्रशिक्षक थिए। उनको नेतृत्वमा कोलकाताले यस सिजनको आईपीएल जितेको थियो।

उनले अब भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको स्थान लिने छन्। हालै सम्पन्न टी२० विश्वकपपछि द्रविडको प्रशिक्षकको कार्यकाल सकिएको थियो।

भारतीय क्रिकेटका ओपनर रहेका गौतमले भारतका लागि ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। यस क्रममा उनले  टेस्ट क्रिकेटमा ९ शतक र २२ अर्धशतकसहित ४ हजार १५४ रन, एकदिवसीय क्रिकेटमा ११ शतक र ३४ अर्धशतकसहित ५ हजार २३८ रन र टी२० मा ७ अर्धशतकसहित ९ सय ३२ रन बनाएका छन्।
       

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २०:५३
Weather Update